
विष्णु अधिकारी, ११ वैशाख, बर्दिया । बर्दिया अस्पतालमा मंगलबार देखि हेमोडायलाईसिस सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले बर्दिया अस्पतालमा सेवा लिन आएका २ मृर्गौला पिडितलाई विरामी पर्चा दिई डायलाईसिस सेवा शुरु गरे ।
सेवा शुभारम्भ कार्यक्रममा स्वास्थ्य मन्त्री पुन मगरले नेपाली नागरिकले स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्ने व्यवस्था संविधानले गरेको हुँदा स्वास्थ्य सेवामा जनताको पहुँच पु¥याउने तर्फ आफुहरुको ध्यान केन्द्रित भएको बताए । बर्दिया अस्पतालमा अन्य थप सेवाहरु सुचारु गर्नका लागि प्राविधिकहरुबाट अध्ययन गरि नितिगत रुपमा छलफल गरि सेवा विस्तार गर्न प्रदेश सरकार तदारुकताका साथ अघि बढ्ने प्रदेश स्वास्थ्य मन्त्री मगरले प्रतिवद्धता व्यक्त गरेका छन् । बर्दिया अस्पताल प्रमुख डाक्टर शुभाष पाण्डेयले सरकारी अस्पतालहरुले दिने न्यून सेवा सुविधाका कारण दक्ष जनशक्ति पलायन हुने भएकाले सेवाको सुनिश्चिततामा कठिनाई भएको बताए ।
पाण्डेयले विशेषज्ञ चिकित्सक र चिकित्सकहरुलाई दिने सेवा सुविधाहरु अन्य जिल्लाको तुलनामा दिन नसकिरहेकाले पनि चिकित्सकहरुलाई सरकारी अस्पतालमा लामो समय टिकाईरहन समस्या आएको बताए । सेवा सुविधाका लागि स्थानीय सरकारहरुबाट केही सहयोग भएमा सेवालाई दिगो राख्न सहयोग पुग्ने भएकाले तदारुकता साथ लाग्न आग्रह गरेका छन् । बर्दिया अस्पतालले नर्सिङ्ग सेवाका लागि राखेका करार कर्मचारीलाई २० हजार ५ सय मात्र अस्पताल समितिले तलब दिएका कारण पनि लामो समय स्वास्थ्यकर्मी रोक्न नसकिएको प्रमुख पाण्डेयको भनाई छ । बर्दिया अस्पताललाई १ सय शैयामा रुपान्तरण गरि नर्सिङ्ग क्याम्पस खोल्न सकेमा जनशक्तिको अभाव नहुने भएकाले यस तर्फ प्रदेश सरकारले ध्यान दिन आग्रह गरेका छन् ।
डायलाइसिस सेवा लिन आएका सिताराम चौधरीका आफन्तले आफ्नै जिल्लामा सेवा पाउन थालेपछि खुशी व्यक्तगर्दै समय र पैसाको बचत भएको बताए । खेतिपाति गरेर जिवन गुजारा गरिरहेको र छोराहरु पनि बाहिर कमाउन गएकाले जिल्ला बाहिर गएर सेवा लिन गाहे भइरहेको समयमा आफ्नै जिल्लामा सेवा लिन पाउनु आफुहरु जस्ताका लागि धेरै सहज हुने उनको भनाई छ । श्रीमानको २ वटै किड्नी फेल भएका कारण डायलाइसिस गराउन आएकि समिता सुनारले आफुहरु यस भन्दा अघि बाहिरी जिल्लामा गएर सेवा लिदा आर्थिक रुपमा असहज भइरहेको अवस्थामा यो सुविधा बर्दिया अस्पतालमा पाउन थालेपछि अनुहारमा खुशी झल्किरहेको थियो । उनले आफ्नै जिल्लाबाट सेवा सुविधा पाएपछि गाडी भाडा बचत, खानपिनमा बचत तथा डायलाइसिस गराउने विरामीहरुमा इमरजेन्सी औषधि उपचार गराउन सहज भएको बताईन । churekunj






















