मैनापोखर/ बर्दियाको मैनापोखर क्षेत्रमा स्कुटीको ठक्करबाट दुई बालबालिका घाइते भएका छन्। नेपालगञ्जबाट गुलरिया तर्फ जाँदै गरेको स्कुटीले बाटो काट्दै गरेका बालबालिकालाई ठक्कर दिएको हो।
दुर्घटना आज चैत्र १३ गते दिउँसो करिब १२स्३० बजे बढैयाताल गाउँपालिका वडा नं ६ मैनापोखरस्थित शान्तीचोकमा भएको प्रहरीले जनाएको छ। जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं। ९ घर बताउने ५९ वर्षीय शिव प्रसाद उपाध्यायले चलाएको भे १४ प १९४ नम्बरको स्कुटीले बाटो क्रस गर्न लागेका स्थानीय ९ वर्षीया आतिका थारू र ५ वर्षीय एलिन थारूलाई ठक्कर दिएको थियो।
दुर्घटनामा दुवै बालबालिकाको टाउको र खुट्टामा चोट लागेको छ। घाइते बालबालिकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। स्कुटी चालक उपाध्याय पनि सामान्य घाइते भएका थिए, उनको स्थानीय मेडिकलमा उपचार गरिएको बताइएको छ। हाल स्कुटी र चालक दुवै प्रहरी नियन्त्रणमा रहेका छन्।
यसैबीच, नेपालगञ्ज–गुलरिया हुलाकी सडक चारलेन बनेपछि उक्त सडक खण्डमा दुर्घटनाका घटना बढ्दै गएको स्थानीयले बताएका छन्। दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि दुर्घटनाको संख्या घट्न नसकेको तथ्यांकले देखाएको छ।
यस कारण उक्त सडक प्रयोग गर्ने पैदलयात्री तथा सवारी चालक दुवैले थप सावधानी अपनाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।























