विज्ञापन

गहुँ काटेको खेतबाट सुरु भएको आगोले सिमरा त्रसित

Image

बढैयाताल | बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ३ सिमरास्थित प्रतिटोल क्षेत्रमा बैशाख १ गते दिउँसो भीषण आगलागी भएको छ। दिउँसो करिब ३ बजेतिर गहुँ काटिएको खेतबाट सुरु भएको आगोले स्थानीय साईबवा को घर, गोठ तथा अन्नपात पूर्णरूपमा जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा बाँसगढी नगरपालिकाको दमकल परिचालन गरिएको थियो। करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्चुत गिरीले जानकारी दिएका छन्। निरीक्षक गिरी स्वयं आगो नियन्त्रणमा खटिएका थिए।

आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, खाद्यान्न तथा नगद समेत जलेर नष्ट भएको छ। घरधनीका अनुसार करिब एक लाख रुपैयाँ नगदसहित केही बाख्रा र कुखुरा पनि जलेका छन्।

प्रारम्भिक अनुमान अनुसार गहुँ काटिएको खेतमा लगाइएको आगोबाटै आगलागी सुरु भएको हो। हावाहुरीका कारण आगो फैलिँदा करिब १० कठ्ठा गहुँबालीमा समेत क्षति पुगेको छ।

वडा नं ३ का वडाध्यक्ष लल्लन अहिरका अनुसार समयमै दमकल नआएको भए नजिकै रहेको बस्ती र नकाटिएको गहुँबालीमा आगो फैलिँदा अझ ठूलो क्षति हुन सक्थ्यो।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन