विज्ञापन

टीकापुर–७ मा सुरक्षित भवनका लागि जग्गा दान गर्ने ३ जना दातालाई सम्मान

Image

टीकापुर | कैलालीको टीकापुर नगरपालिका वडा नं। ७ मा विभिन्न समयमा सुरक्षित सामुदायिक भवन निर्माणका लागि जग्गा दान गर्ने तीन जना जग्गादातालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

टीकापुर–७ को प्रतिपुरमा सुरक्षित भवन निर्माणका लागि १० धुर जग्गा दान गर्ने साधुराम थारूलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो। उनले तत्कालीन वडा अध्यक्ष रामलाल डगौरा थारूको पहलमा २०७५ साल कार्तिक २० गते वडा कार्यालयलाई उक्त जग्गा दान गरेका थिए।

त्यसैगरी, वडा नं। ७ कै डाँडाटोलमा सुरक्षित सामुदायिक भवन निर्माणका लागि जग्गा दान गर्ने धनबहादुर गरंजाको परिवारलाई पनि दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको वडा सचिव कमला पोख्रेलले जानकारी दिएकी छन्। उनका अनुसार गरंजा परिवारले तत्कालीन वडा अध्यक्ष डगौरा थारूको पहलमा २०७७ साल पुस २२ गते एक कठ्ठा जमिन दान गरेका थिए।

यसै क्रममा प्रतिपुर समुदायमा बहुउद्देश्यीय सुरक्षित आवास निर्माणका लागि एक कठ्ठा १० धुर जग्गा दान गर्ने विष्णुराम जैशीको परिवारलाई पनि सम्मान गरिएको छ।

तीनवटै स्थानमा आयोजित कार्यक्रम टीकापुर नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्य कैलशपति चौधरी, राजकुमार चौधरी, टोल विकास संस्थाकी अध्यक्ष कल्पना ढुंगाना,  कैलालीका अध्यक्ष भोजराज ढुंगाना, जनता राम माविका प्रअ किरण धिताल, समाजसेवी नरेन्द्र रेग्मी, रत्नप्रसाद पाण्डेय लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले समुदायको हितका लागि जग्गा दान गर्ने दानवीरहरूलाई धन्यवाद व्यक्त गरेका थिए। साथै तीनवटै सामुदायिक सुरक्षित भवनमा जग्गादाताहरूको नाम अंकित शिलालेख स्थापना गरी अनावरण समेत गरिएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन