बर्दिया / जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरको आयोजनामा चैत १० गते मैनापोखरमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बढैयाताल गाउँपालिका क्षेत्रको शान्ति सुरक्षा व्यवस्थापन, लागुऔषध नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, चोरी–तस्करी नियन्त्रण, मानव बेचबिखन तथा प्रहरीले प्रदान गर्ने सेवा सुविधाका विषयमा सरोकारवालाबीच छलफल गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीको सभापतित्वमा भएको कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा सबै वडाका वडाध्यक्ष, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासे, जनप्रतिनिधि, नागरिक समाजका संयोजक बालकृष्ण लामिछाने, बढैयाताल उद्योग वाणिज्य संघका पदाधिकारी, बजार समितिका अध्यक्ष, पालिका स्तरका राजनीतिक दलका प्रतिनिधि, टोलका बडघर, नागरिक अगुवा, महिला सञ्जालका सदस्य, सहकारी तथा सामुदायिक वनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सरोकारवालाले भारतीय खुला सिमानाका कारण बढ्दै गएको लागुऔषधको प्रयोगले युवायुवतीहरू दलदलमा फस्दै गएको भन्दै यसको नियन्त्रणका लागि नागरिक र प्रहरी मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा उठेका शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण र चोरी–तस्करी सम्बन्धी प्रश्नको जवाफ इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक अच्युत गिरीले दिएका थिए भने ट्राफिक व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासेले जानकारी गराएका थिए। साथै बढैयाताल गाउँपालिकाको विकास निर्माण तथा स्थानीय सरकारको भूमिकाबारे उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले स्पष्ट पारेकी थिइन्।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीले बढैयाताल भारतीय सिमासँग जोडिएको पालिका भएकाले नजिकैका भारतीय बजार लौकाही र बलैगाउँमा खुला रूपमा लागुऔषध बिक्री हुने गरेको उल्लेख गर्दै यसले नेपाली युवायुवतीलाई प्रभावित बनाइरहेको बताए। उनीहरूले यस क्षेत्रमा लागुऔषध सेवन तथा ओसारपसारको समस्या बढ्दै गएको भन्दै समयमै सबै सरोकारवाला मिलेर नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए।
























