“उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नारासहित ६९औँ राष्ट्रिय सहकारी दिवस बर्दियाको बढैयाताल गाउँपालिकामा विविध कार्यक्रमका साथ मनाइएको छ।
सहकारी सञ्जाल बढैयातालको आयोजना तथा बढैयाताल गाउँपालिकाको समन्वयमा शुक्रबार (चैत्र २० गते) वडा नं. ७ स्थित भगवती दुग्ध उत्पादक सहकारी संस्था परिसरमा भव्य कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिकाभित्र रहेका ५३ वटा सहकारी संस्थामध्ये सक्रिय ३४ वटा सहकारी संस्थाको सहभागिता रहेको थियो।
दिवसका अवसरमा बढैयाताल गाउँपालिकाभित्र क्रियाशील सहकारी संस्थाहरू र सहकारीका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै सहकारीमा आबद्ध किसानहरूले आफैंले उत्पादन गरेका कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री स्टलसमेत राखिएको थियो।
कार्यक्रम सहकारी सञ्जाल बढैयातालका संयोजक विष्णु प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी रहेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

त्यसैगरी कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य हरिबहादुर अधिकारी, दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य इन्द्र प्रसाद लुइँटेल, कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव, बढैयाताल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक खनाल, जिल्ला समन्वय समितिका सदस्य पुरैलाल थारू, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा सदस्य, सहकारीमा आबद्ध किसान, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहकारी सञ्जाल बढैयातालका संयोजक विष्णु प्रसाद लम्सालले गाउँपालिकाभित्र रहेका सहकारी संस्थाहरूको अवस्था, उनीहरूले गरेका कार्यहरू तथा सहकारी सञ्चालनमा देखिएका चुनौती र सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य हरिबहादुर अधिकारीले अधिकांश सहकारी संस्था विधि, पद्धति र नियमअनुसार सञ्चालन नभएको उल्लेख गर्दै यस्ता सहकारीहरूको नियमित अनुगमन गरी विधि र पद्धतिमा ल्याउन सहकारी सञ्जाल तथा स्थानीय सरकार सक्रिय हुनुपर्नेमा जोड दिए।
त्यसैगरी दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका सञ्चालक सदस्य इन्द्र प्रसाद लुइँटेलले सहकारीहरूले आफ्ना सदस्यहरूलाई व्यावसायिक किसान बन्न प्रोत्साहन गर्नुपर्ने र उत्पादन वृद्धि गरी आयआर्जन बढाउनतर्फ ध्यान दिनुपर्ने बताए। उनले बढैयाताल क्षेत्र दुग्ध उत्पादनमा क्रमशः आत्मनिर्भर बन्दै गएको उल्लेख गर्दै दुग्ध उत्पादन क्षेत्रमा स्थानीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तव, उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपक खनाल तथा सहकारी अभियन्ता कौशिल्या सिंह ठकुरी लगायतले पनि सहकारी क्षेत्रको सुदृढीकरणमा जोड दिँदै मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले सहकारी संस्थाहरूलाई व्यवस्थित र मर्यादित बनाउने जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख गर्दै सक्रिय सहकारीहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सहकारीहरूले आफ्ना शेयर सदस्यहरूलाई उत्पादनमा जोडेर व्यवसायी बनाउनुपर्ने र आयआर्जन बढाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्।
उपाध्यक्ष अधिकारीले किसानहरूका लागि स्थानीय सरकारले बीउबिजन, सिँचाइ मोटर, यान्त्रिक उपकरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन्।
कार्यक्रममा सहकारी अभियन्ता शोभा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्।
























