
गेरुवा/ महिलाको पाठेघरको भित्री भागमा रहेको रगत प्रत्येक महिना निष्कासन हुने प्राकृतिक सफाइको प्रक्रियालाई महिनावारी भनिन्छ । किशोरीहरु महिनावारी हुनु भनेको आमा बन्नका लागी तयार हुदै गएको भनेर बुझ्न सकिन्छ । यसलाई खुसीको रुपमा हेर्नुपर्नैमा अछुतको रुपमा हेरिन्छ ।
अछुतकै रुपमा लिएकाले होला यसलाई नछुनी भाको, छुइ भएको, पर सरेको जस्ता नामहरु दिइएको छ । यस्तै अन्धविश्वासलाई चिर्न र समुदायमा महिनावारी स्वास्थ्य र स्वच्छता सम्बन्धि व्यवहारहरु परिर्वतन गर्नका लागी गेरुवा गाउपालिकामा वाटरऐड, राष्ट्रिय अपाङ्ग महासंघ, व्याकवार्ड सोसाइटी एजुकेशन, युके एड र नेपाल प्रजनन् स्याहार केन्द्र को सहकार्यमा वास गेन्स परियोजना सञ्चालनमा छ ।

यहि फागुन २३ गते गेरुवा ५मा रहेको पशुपति मा.बि.मा सहभागिता मुलक फोटो प्रर्दशनी तथा सरोकारवालाहरु सगं अन्र्तक्रियाको आयोजना गरिएको छ ।छात्राहरुले महिनावारी हुदा आफुले भोगेका तितामिठा अनुभवलाई फोटोको माध्यम द्धारा प्रस्तुत गरेका थिए । विद्यालयभित्र महिनावारी आराम कक्षको उचित व्यवस्थापन, प्रयोग भएका प्याड व्यवस्थापन लगायतका भोगाइलाई फोटो मार्फत प्रर्दशन गरेका थिए । फोटोग्राफीका लागी छात्राहरुलाइ क्यामरा एवं तालिमको व्यवस्था पनि गरिएको वाटरएडका महिनावारी स्वच्छता सयोंजक मञ्जु भट्टले बताउनु भयो ।
प्रर्दशनी अवलोकन पश्चात भएको अन्र्तक्रियामा छात्राहरुले महिनावारीका समयमा भोग्ने गरेको कठिनाइहरुका बारेमा सरोकारवालाहर सित छलफल चलाइएको थियो । अधिकांश छात्राहरुले प्याडको गुणस्तर माथि प्रश्न उठाएका थिए । “प्याडको गुणस्तर राम्रो छैन ।” कक्षा ९ मा अध्यनरत अनिता शाहिले थपिन ‘२ घण्टा पनि चल्दैन, साइइजपनि सानो छ ।”

गेरुवा गाउपालिकाले स्वच्छता सम्बन्धी क्रियाकलाप पहिलैबाट प्राथमिकतामा राखेर काम गर्दे आएको वडा न. ३ का अध्यक्ष निर्मल चौधरीले बताउनु भयो ।
छात्रछात्राले प्रर्दशनीका लागी राखेको फोटो कथा गाँउपालिकाका जननिर्वाचित प्रतिनिधिहरु, कर्मचारीहरु, अभिभावकहरु, विद्यार्थी लगायतका सरोकारवालाहरुले अवलोकन गरेका थिए । हाम्रो समाजमा महिनावारीसम्बन्धी कुसंस्कार र अन्धविश्वास लाई तोड्न छात्राहरुले गरेको फोटो कथाले सो समुदायमा परिर्वतन ल्याउने अपेक्षा गरिएको छ ।























