राजापुर/ राजापुर नगरपालिकाको आयोजना, प्लान इन्टरनेशनलको आर्थिक सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा वडा नं. ७ र ८ मा ६ महिना देखी ५ वर्षसम्मका बालबालिकाहरूको स्वास्थ्य स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ७ मा १६४ जना र वडा नं. ८ मा १९६ जना बालबालिकाको स्क्रिनिङ गरिँदा क्रमशः ३ र ९ जना गरी कुल १२ जना बालबालिका ‘पहेलो लाइन’मा रहेको तथ्य बाहिर आएको फिल्ड सुपरभाइजर दिक्षा बिष्टले जानकारी दिइन्। पहेलो लाइनमा परेका बालबालिकाका अभिभावकलाई स्वास्थ्यकर्मीहरूले सन्तुलित आहार, पोषणयुक्त खाना र दैनन्दिन हेरचाहबारे विस्तृत परामर्श समेत प्रदान गरेका थिए।
राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरभाइजर रेनु चन्दका अनुसार, अभिभावक शिक्षा कार्यक्रम सक्रिय रूपमा सञ्चालन हुँदै आएको कारण गत वर्षको तुलनामा यो वर्ष कुपोषित बालबालिकाको संख्या उल्लेख्य रूपमा कम भएको छ। उनले अभिभावकको जागरूकता वृद्धि नै कुपोषण घटाउनको मुख्य कारण भएको बताइन्।
स्क्रिनिङ कार्यक्रमको अनुगमन गर्दै राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले यस्ता स्वास्थ्य कार्यक्रमले बालबालिकाको पोषण तथा समग्र स्वास्थ्य अवस्थाबारे वास्तविक तथ्य बुझ्न मद्दत गर्ने बताए। उनका अनुसार, पालिकाले बाल स्वास्थ्य र पोषणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






















