बढैयाताल/ बढैयाताल गाउँपालिका–९, शक्तिनगरस्थित कपास विकास समितिको सार्वजनिक जग्गाबाट अवैध रूपमा माटो उत्खनन गरी ओसार–पसारमा संलग्न दुई टिप्परलाई आर्थिक कारवाही गरिएको छ।
सार्वजनिक स्थलमाथि अवैध उत्खनन भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मैनापोखरले भे १ क १४७४ र भे १ क ११२४ नम्बरका टिप्परलाई कार्तिक ३० गते नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार यस्तो प्रकृतिको मुद्दा स्थानीय सरकारको अधिकारक्षेत्रमा पर्ने भएकाले आवश्यक कारवाहीका लागि वडा तथा गाउँपालिकामा फाइल पठाइएको थियो।
गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीका अनुसार नियन्त्रणमा रहेका दुवै टिप्परलाई कार्तिक ३ गते समानरूपमा ५०/५० हजार रुपैयाँ जरिवाना गरी छाडिएको हो।
सार्वजनिक जग्गामा अवैध उत्खनन भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि गाउँपालिकाको निर्देशनमा प्रहरी सक्रिय बनेको कार्यालयले जनाएको छ।























