विज्ञापन

बढैयातालमा लागुऔषध नियन्त्रण सम्बन्धी कार्यशाला सम्पन्न

Image

बर्दिया — बढैयाताल गाउँपालिका वडा नं ७ मा लागुऔषध नियन्त्रणसम्बन्धी एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा, बाँके युनेस्को क्लबको सहकार्य र ईलाका प्रहरी कार्यालय मैनापोखरसँगको समन्वयमा शुक्रबार ९कार्तिक २१ गते० वडा कार्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले बालबालिका र किशोरी लक्षित कार्यक्रमहरू, बालविवाह न्यूनिकरण तथा लागुऔषध नियन्त्रणमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउँदै युवा पुस्ताको सक्रिय भूमिकाको महत्व औंल्याए।

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीले स्लाइड प्रस्तुतीमार्फत लागुऔषध के हो, यसले समाज र युवामा पार्ने असर र यसको ओसार–पसार तथा सेवनसम्बन्धी कानुनी प्रावधानबारे सहभागी किशोर–किशोरीहरूलाई जानकारी गराएका थिए। उनले समुदाय, प्रहरी र युवाको सहकार्यबाट मात्र यस्ता अपराध नियन्त्रण गर्न सकिने बताएका थिए।

कार्यक्रमका सभापति तथा वडा नं। ७ का अध्यक्ष राधेश्याम थारूले भारतसँगको खुला सिमानाका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबैको एकता र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। उनले बालविवाह अझै पनि चुनौतीपूर्ण रहेको र टोलस्तरमै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा वडा सचिव रणबहादुर रावतले स्वागत मन्तव्य दिएका थिए भने बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर रामबहादुर थारूले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, युवा सञ्जालका सदस्य, नागरिक समाजका प्रतिनिधि, सामुदायिक वनका अध्यक्ष, महिला सञ्जाल, अभिभावक, नेपाल प्रहरी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन