बढैयाताल / बढैयाताल गाउँपालिका–९ की लक्ष्मी थारूले वर्षौंदेखि पाउन नसकेको नेपाली नागरिकताको प्रमाणपत्र अन्ततः प्राप्त गरेकी छन्। उनका संरक्षकका रूपमा सोही वडाका वडा अध्यक्ष विर बहादुर थारू स्वयं अगाडि आएपछि नागरिकता पाउन मार्ग खुलेको हो।
लक्ष्मीका पिता रिसु लाल थारूको २०७७ सालमा मृत्यु भएको थियो भने आमा देविसरा थारू २०७८ सालदेखि वेपत्ता छन्। न त अभिभावक, न त नजिकका आफन्त—यही अभावका बीच लक्ष्मी उमेर पुगे पनि नागरिकता प्राप्तिबाट बञ्चित हुँदै आएकी थिइन्।
वडा अध्यक्ष थारूले स्थानीय सरकारको दायित्व र बालिकाको अवस्था दुवैलाई ध्यानमा राख्दै संरक्षक बन्ने पहल गरे। नागरिकताको अभावले हरेक कानुनी तथा सामाजिक अधिकारमा पछि पर्न नपरोस् भन्ने भावनासहित उनले लक्ष्मीलाई साथ लिएर जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका थिए। सोही क्रममा २०८२ मंसिर १ गते लक्ष्मी थारूलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।
वडा अध्यक्ष विर बहादुर थारू विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निरन्तर सहयोग गर्ने जनप्रतिनिधिका रूपमा पहिलेदेखि परिचित छन्। लक्ष्मीलाई नागरिकता मिळाइदिएको यो पहल स्थानीय तहको मानव केन्द्रित नेतृत्वको प्रेरणादायी उदाहरणका रूपमा देखिएको छ।






















