विज्ञापन

लुम्बिनी प्रदेशका मन्त्री तिमिल्सिनाद्वारा बुद्ध आविको नयाँ भवन शिलान्यास

Image

राजापुर/ राजापुर नगरपालिका वडा नं ७ मा अवस्थित बुद्ध आधारभूत विद्यालयमा नयाँ १२ कोठे भवन निर्माण हुने भएको छ । उक्त भवन संरचनाको शिलान्यास लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले एक विशेष समारोहका बीच सम्पन्न गर्नुभएको हो ।

शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिको आयोजनामा सम्पन्न गरिएको थियो । सोही विद्यालयका पुर्व प्रअ भानु कार्कीले सञ्चालन गरेको कार्यक्रममा मन्त्री तिमिल्सिना प्रमुख अतिथि हुनुहुन्थ्यो भने राजापुर नगरपालिका वडा न ७का अध्यक्ष रामु थारु,सामाजिक विकास डिभिजन कार्यालय बाकेका प्रमुख उद्धव श्रेष्ठ, वरघरहरु, पुर्व जनप्रतिनिधिहरु, अभिभावक तथा विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

मन्त्री तिमिल्सिनाले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रमा गुणस्तर र पहुँच दुवै बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ–गाउँमा भौतिक पूर्वाधार निर्माणसँगै सिकाइको गुणस्तरमा सुधार ल्याउने हाम्रो प्राथमिकता हो । बुद्ध आविको यो नयाँ भवनले विद्यार्थीहरूलाई सुरक्षित र सहज शैक्षिक वातावरण प्रदान गर्नेछ ।”

१२ कोठे भवन प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । करिब ३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त भवनमा कक्षा कोठा, प्रशासनिक कोठा, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था समेत रहनेछ र काम १४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विद्यालयमा थप भवन निर्माण भएपछि विद्यार्थी संख्या र सिकाइको वातावरण दुवैमा सुधार आउने विश्वास लिइएको छ । अभिभावक र सरोकारवालाहरूले नयाँ भवनले विद्यालयमा पठनपाठनको वातावरण सुधार्नेमा खुशी व्यक्त गरेका छन् । उनीहरूले भवन निर्माणको कार्य समयमै सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूलाई आग्रह समेत गरेका छन् ।

बुद्ध आवि राजापुर नगरपालिकाको पुरानो र अग्रणी विद्यालयहरूमध्ये एक हो । यस विद्यालयमा हाल ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माण भएपछि विद्यालयले कक्षा विस्तार गर्ने र आधुनिक शिक्षण प्रणाली अपनाउने योजना बनाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन