पुष्कर काफ्ले, ६ मंसिर २०८१, गेरुवा । आफ्नो जन्मदिनको अवसरमा एक परिवारलाई सहयोग गर्दै आउनुभएका नेपाली कांग्रेस बर्दियाका युवा नेता कमल प्रसाद रेग्मीले प्रतिबद्धता जनाएअनुसार सहयोगलाई निरन्तरता दिनुभएको छ ।
बिहीबार परेको जन्मदिनमा फजुल खर्च गर्ने परिपाटीलाई तोड्दै नेविसंघ अमृत साइन्स क्याम्पसका पूर्व इकाइ अध्यक्ष एवं नेपाल विद्यार्थी संघ बर्दियाका पूर्व अध्यक्ष समेत रहनुभएका युवा नेता रेग्मीले गेरुवा ४ जोधिपुरकी रेमन्ती रोकायका छोरीहरुको पठनपाठनमा सहज होस् भन्दै २० हजार रुपैँया सहयोग गर्नुभएको हो ।
२०७७ साल भदौ १८ गते कर्णाली नदीमा दाउरा टिप्न गई डुवेर निधन भएका गेरूवा ४ जोधिपुरका बलबहादुर रोकायको परिवारले अभिभावक गुमाएपछि परिवार आर्थिक चपेटामा परेको थियो । घरको आर्थिक व्यवस्थापन गर्ने बलबहादुरनै नरहेपछि उहाँकी श्रीमती रेमन्ती रोकायलाइ पढ्ने उमेरका ४ जना छोरी कसरी पढाउने भन्ने हृदयविदारक भिडियो गेरुवा अपडेटमा हेरेपछि रेग्मीले हरेक जन्मोत्सवमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
२०७७ सालदेखि जन्मदिनको अवसरमा सहयोग गर्दै आउनुभएका युवा नेता रेग्मीले रेमन्ती रोकायका ४ जना छोरीको माध्यमिक तहसम्मको शिक्षाको लागि बार्षिक २० हजार रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता अनुसार सहयोग गर्दै आउनुभएको छ ।
रोकाय परिवारले अभिभावक गुमाएपछि रेमन्ति रोकायलाई छोरीहरू कसरी पढाउने भन्न चिन्ताले सताएको थियो । युवा नेता रेग्मीको सहयोग हरेक बर्ष प्राप्त हुने भएपछि रोकाय परिवारलाई ठूलो सहयोग पुगेको छ ।
‘श्रीमान गुमाएपछि ४ जना छोरीहरुलाई विद्यालयमा कसरी पढाउने, कापी कलमको जोहो कसरी गर्ने, घर खर्च कसरी टार्ने चिन्तै चिन्ताले सताएको थियो ।’ रेमन्ति रोकायले भन्नुभयो, ‘समाजसेवी कमल प्रसाद रेग्मीले जन्मदिनको अवसरमा हरेक बर्ष २० हजार रुपैँया सहयोग गरेपछि छोरीहरुको शिक्षा दिक्षामा ठुलो सहयोग पुग्यो ।’
आफुहरु सामान्य परिवारको भएको बताउँदै रेमन्ति रोकायले मनकारी रेग्मीको सहयोग प्राप्त नभएको भए सायद छोरीहरु विद्यालय नभई मजदुरी गर्न पठाउनुपर्ने आफ्नो अवस्था हुने बताउनुभयो ।
यति मात्र नभई नेपाली कांग्रेस बर्दियाका युवा नेता रेग्मीले २०६६ सालमा विवाह खर्च कटौती गरेर आफ्नो ठूलो बुवा नेपाली कांग्रेस बर्दियाका संस्थापक नेता खगेन्द्र प्रसाद रेग्मीको सम्झनामा खगेन्द्र प्रसाद रेग्मी छात्रवृत्ति कोष स्थापना समेत गर्नुभएको छ । जसबाट हरेक बर्ष जनता माध्यमिक विद्यालय गेरुवा ४ गोलामा अध्ययनरत विद्यालय प्रथम हुने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरिएको छ ।
युवा नेता रेग्मीले आफुले प्रारम्भिक शिक्षा जनता माध्यमिक विद्यालयबाट प्राप्त गरेकोले जनता माध्यमिक विद्यालयलाई छनोट गर्नुभएको हो । युवा नेता रेग्मीले थुप्रै सामाजिक कार्य गर्दै आउनुभएको छ ।























