विज्ञापन

बढैयातालमा ट्राफिक सचेतना अभियान, चालक–सहचालकलाई अभिमुखीकरण

Image

बढैयाताल | बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ भोलागौडी बजारमा सडक सुरक्षा तथा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको सहकार्यमा बैशाख ४ गतेदेखि सुरु भएको उक्त अभियान अन्तर्गत चालक र सहचालक लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका क्रममा नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गमा सञ्चालन हुने ठूला तथा साना सबै सवारी साधनहरूमा सचेतनामूलक सन्देशसहितका स्टिकर टाँसिएको थियो। भोलागौडी बजारमा आयोजित कार्यक्रममा त्यस क्षेत्रका अटो रिक्सा लगायत विभिन्न सवारी साधनका चालक तथा सहचालकहरूलाई प्रशिक्षण दिइएको थियो।

ट्राफिक प्रहरी कार्यालय बर्दियाका ट्राफिक प्रहरी नायव निरीक्षक राघव सिंह राठौर तथा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत देव नारायण उपाध्यायले सहभागीहरूलाई सुरक्षित यात्रा सम्बन्धी महत्वपूर्ण जानकारी दिएका थिए।

ट्राफिक प्रहरीका अनुसार विगत केही दिनदेखि बर्दिया जिल्लाका प्रमुख बजारहरूमा सडक सुरक्षा अभिवृद्धि र दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले अभियानकै रूपमा सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।

अभियान अन्तर्गत सवारी साधनको छतमा बसेर यात्रा नगर्न, सिट बेल्ट प्रयोग गर्न, तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह गर्दै सन्देशमूलक स्टिकर टाँस गरिएको छ।

उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव निरीक्षक राघव सिंह राठौर, प्रहरी हवल्दार रणघिर सिंह धामी, प्रहरी हवल्दार ओमकार थारू, प्रहरी जवान चक्र थापा, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रतिनिधि, सञ्चारकर्मी तथा नागरिक समाजको सहभागिता रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन