विज्ञापन

न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल उत्कृष्ट

Image

बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पतालले ९६ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो र मुलुकभरमा दोस्रो भएको हो ।

अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, वहिरङ्ग सेवा, इमर्जेन्सी सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा बर्दिया अस्पतालले कुल ९६ अङ्क प्राप्त गरेको हो ।

न्यूनतम मापदण्ड सेवामा देशभर रहेका ५० शय्या क्षमता भएका अस्पतालमध्ये बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै पहिलो र नेपालभर दोस्रो भएको स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल जर्नलिष्ट डा. नरेन्द्र खनालले बताउनुभयो ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्याङ्कन समीक्षा कार्यक्रममा डा. खनालले सीमित साधन स्रोतबिचमा पनि बर्दिया अस्पताल उत्कृष्ट बनेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले टिम मिलेर काम गर्न सकेमा सजिलै अघि बढ्न सकिने र सफलता पाइने बताउनुभयो ।

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले अस्पताल लुम्बिनी प्रदेशमा प्रथम हुनुमा अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी, व्यवस्थापन समिति र सरोकारवाला निकायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताउनुभयो । मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले भन्नुभयो, ‘बर्दिया अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९६ अङ्क ल्याएको छ, अब आगामी वर्ष थप अङ्क ल्याउनेगरी अस्पताल टिम लाग्छौँ ।’(Savar-krishnasar)

विज्ञापन
विज्ञापन
विज्ञापन