टीकापुर/ कैलाली र बर्दियालाई जोड्ने सत्ती कर्णाली पुल आसपास क्षेत्रका किसानहरू अहिले खोलाको बगरमा प्याज खेतीतर्फ आकर्षित भएका छन्। पुल तलतिर रहेको कर्णाली नदीको बगरमा स्थानीय किसानहरूले स–साना प्लट बनाएर प्याज खेती गरेका छन्।
कैलालीको टीकापुर नगरपालिका–८ फाँटागाउँ आसपासका करिब ५० देखि ६० घरपरिवारले नदी किनार तथा बगर क्षेत्र प्रयोग गरेर प्याज खेती गर्दै आएका छन्। पछिल्ला वर्षहरूमा उत्पादन राम्रो हुन थालेपछि किसानहरूको सहभागिता पनि बढ्दै गएको स्थानीयले बताएका छन्।
किसानका अनुसार बालुवा मिश्रित खुकुलो माटो भएकाले बगर क्षेत्रमा प्याज राम्रो उत्पादन हुने गरेको छ। सिँचाइका लागि नदीको पानी सजिलै उपलब्ध हुने भएकाले पनि खेती गर्न सहज भएको उनीहरू बताउँछन्। केही किसानले भने बगरमा एकदेखि डेढ कट्ठासम्म क्षेत्रफलमा प्याज खेती गर्दै आएका छन्।
पहिले यो बगर क्षेत्र प्रायः खाली रहने गर्थ्यो। तर केही वर्षदेखि किसानहरूले परीक्षणका रूपमा प्याज खेती सुरु गरेपछि राम्रो उत्पादन भएको अनुभव पाएपछि अहिले धेरै किसान यसतर्फ आकर्षित भएका हुन्।
उत्पादित प्याज नजिकैका बजार, विशेष गरी बर्दियाको राजापुर बजार लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ। बगरमा गरिएको खेतीबाट किसानले राम्रो आम्दानी लिन थालेपछि यस क्षेत्रको बगर खेतीका लागि सम्भावनायुक्त बन्न थालेको स्थानीयले बताएका छन्।























