बर्दिया — गेरुवा गाउँपालिका–३ बनकट्टिका खुसीराम थारुको घरमा अहिले बिहानैदेखि नातागोता र छिमेकीको बाक्लो उपस्थिति हुने गरेको छ। घरमा मानिसको चहलपहल छ, तर सबैको मनमा एउटै प्रश्न छ—८८खुसीराम कहाँ छन्रु८८
भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका खुसीरामको अवस्था अहिलेसम्म अज्ञात छ। परिवारका सदस्यहरू भने उनी सकुशल फर्किएर आउने आशामा दिन काटिरहेका छन्।
घरको आँगनमा आउने हरेक पाइला र बज्ने हरेक फोनले परिवारको आशा जगाउँछ। तर जब खुसीरामको कुनै खबर आउँदैन, त्यो आशा फेरि निराशामा बदलिन्छ।
खुसीरामकी श्रीमती मिराका लागि यो प्रतीक्षा झन् पीडादायी छ। विवाह गरेको दुई वर्ष पनि पूरा नहुँदै श्रीमान् सम्पर्कविहीन भएपछि मिरा कहिले खुसीराम फर्किने बाटो हेरेर बस्छिन्, त कहिले उनको फोटो हेरेर समय बिताउँछिन्।
भदौ ९ गते मिराले अन्तिम पटक खुसीरामसँग कुरा गरेकी थिइन्। त्यसपछि भने उनको फोन आएन, सम्पर्क पनि हुन सकेन।
खुसीराम परिवारका एक्ला छोरा थिए। घरको जिम्मेवारी उनको काँधमा थियो। आफ्ना दुई सानी बहिनीको पढाइ पूरा गराउने जिम्मेवारी पनि उनले बोकेका थिए। परिवारको भविष्यका धेरै सपना खुसीरामसँग जोडिएका थिए।
तर भोटेकोशीको बाढीले ती सपना अहिले अनिश्चित प्रतीक्षामा परिणत गरिदिएको छ।
छोरोको खोजीमा खुसीरामका बुवा पनि घर छाडेर गएका छन्। कहाँ खोज्ने, कसलाई सोध्ने र छोरो कुन अवस्थामा छन् भन्ने कुनै निश्चित जानकारी परिवारसँग छैन।
यता घरमा आमा, श्रीमती मिरा, दुई बहिनी र आफन्तहरू खुसीरामको खबरको प्रतीक्षामा छन्।
“उहाँ फर्केर आउनुहुन्छ भन्ने आशा अझै छ,” मिराको आँखाले मानौँ यही भनिरहेको छ।
बाढीले धेरै घर, परिवार र सपना बगाएको छ। खुसीरामको परिवारका लागि भने अहिले सबैभन्दा ठूलो चाहना एउटै छ, हराएका खुसीरामको कुनै खबर आओस्, उनी सकुशल फर्केर घरको आँगनमा टेकून्।
त्यही आशामा बनकट्टिको एउटा घर आज पनि बाटो हेरिरहेको छ।
https://youtu.be/-yoY3Iey4m8





















