कैलालीको मोहन्याल गाउँपालिका–राजकाँडामा अवस्थित जाल्पा देवी मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण डाँडामा रहेको यस मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ।
पछिल्लो समयमा चन्द्र ढकाल नेतृत्वको आईएमई ग्रुपले चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालन गर्ने योजना अघि बढाएसँगै पुरानो मन्दिरको छेउमै नयाँ मन्दिर निर्माणको काम तीव्र रूपमा भइरहेको छ। केबुलकार सञ्चालनमा आएपछि यस क्षेत्रको धार्मिक तथा पर्यटन गतिविधिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
हाल जाल्पा देवी मन्दिर पुग्न दुईवटा मुख्य विकल्प उपलब्ध छन्। पहिलो, चिसापानीबाट पैदल ट्रेकिङ गर्दै रमणीय जंगल र पहाडी दृश्यको आनन्द लिँदै मन्दिर पुग्न सकिन्छ। दोस्रो, कैलालीको लम्की बजारबाट सवारीसाधनमार्फत राजकाँडासम्म सहजै पुग्न सकिन्छ।
भविष्यमा तेस्रो विकल्पका रूपमा चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालन हुने भएपछि मन्दिर पुग्न अझ सहज हुने विश्वास गरिएको छ। यसले धार्मिक पर्यटनसँगै स्थानीय आर्थिक गतिविधि र रोजगारीका अवसरसमेत विस्तार गर्ने अपेक्षा गरिएको छ।




















