टीकापुर, कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ स्थित खैरिपुर चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
आज दिउँसो करिब ४ः१० बजे बर्दियाबाट धनगढीतर्फ जाँदै गरेको भे २ प ६२८८ नम्बरको मोटरसाइकल र टीकापुरको टीकुनियाबाट लम्कीतर्फ जाँदै गरेको भे १४ प ३४०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
सत्ती ट्राफिक प्रहरी इन्चार्ज तारा विष्टका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन्।
घाइतेमध्ये गुलरिया नगरपालिका–६ का ५८ वर्षीय कमल सुवेदीको मुख र दायाँ खुट्टामा चोट लागेको छ। सोही ठाउँका ५५ वर्षीय बाबुराम तिवारीको कान र निधारमा चोट लागेको प्रहरीले जनाएको छ। अर्का घाइते लम्कीचुहा नगरपालिका–१ का व्यक्तिको हात, खुट्टा र कम्मरमा चोट लागेको छ।
घाइते तीनै जनालाई उपचारका लागि टीकापुर अस्पताल लगिएको छ। दुर्घटनामा दुवै मोटरसाइकलमा क्षति पुगेको छ भने दुर्घटनामा संलग्न दुवै मोटरसाइकल सत्ती प्रहरी चौकीको नियन्त्रणमा रहेको सत्ती प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक ऐनबहादुर पालले जानकारी दिनुभयो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















