बर्दिया । बढैयाताल गाउँपालिका–७ मा रहेको भगवती दुग्ध उत्पादन सहकारी संस्था पछिल्लो समय दुग्ध उत्पादन तथा बजारीकरणका क्षेत्रमा परिचित नाम बनेको छ। २०५७ सालमा २५ जना किसानको सहभागितामा स्थापना भएको सहकारीमा अहिले करिब १ हजार ८ सय सदस्य आबद्ध छन्।
सहकारीले स्थापना हुँदा दैनिक करिब २५ लिटर दूध संकलन गर्ने गरेको थियो। सुरुवाती समयमा संकलित दूध बिक्री गर्न समेत समस्या हुने गरेको थियो। किसानबाट संकलित दूध डिडिसीमा लगेर बिक्री गर्नुपर्ने अवस्था रहेको सहकारी अहिले भने दैनिक हजारौं लिटर दूध संकलन गर्ने अवस्थामा पुगेको छ।
हाल सहकारीले अफ सिजनमा दैनिक करिब ९ हजार लिटर र सिजनमा १५ हजार लिटरसम्म दूध संकलन गर्दै आएको छ। संकलित सम्पूर्ण दूध पोखरास्थित सुजल डेरीले सहकारीबाटै सिधै खरिद गर्ने गरेको सहकारीले जनाएको छ।
भगवती दुग्ध उत्पादन सहकारीले दूध खरिदमा मात्रै सीमित नभई किसानलाई पशुपालनमा आवश्यक सहयोगसमेत गर्दै आएको छ। सहकारीले किसानका पशुका लागि आवश्यक दाना एक महिनासम्मका लागि उपलब्ध गराउने गरेको छ। त्यस्तै, पशु खरिद गर्न चाहने किसानलाई बिना धितो ६ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने व्यवस्था समेत गरेको छ।
सहकारीले आफ्ना सदस्य किसानले उत्पादन गरेको दूध संकलन गर्नुका साथै राजापुरलगायत विभिन्न स्थानमा रहेका साना दुग्ध सहकारीबाट समेत दूध उठाउँदै आएको छ।
दूध उत्पादनमा किसानलाई थप प्रोत्साहित गर्न सहकारीले आफ्ना सदस्यलाई प्रतिलिटर २ रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। साथै, राम्रो फ्याट भएको दूध उत्पादन गर्ने, धेरै दूध उपलब्ध गराउनेलगायत विभिन्न विधामा उत्कृष्ट ९ जना किसानलाई प्रत्येक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्ने गरिएको छ।
किसानलाई समयमै भुक्तानी सुनिश्चित गर्न सहकारीले प्रत्येक महिनाको १० गतेभित्र बैंकमार्फत मात्र दूधको रकम भुक्तानी गर्ने व्यवस्था गरेको छ। यसले किसानलाई नियमित आम्दानीको स्रोतसँग जोड्नुका साथै सहकारीप्रति विश्वास बढाउन समेत सहयोग पुगेको सहकारीको भनाइ छ।
हाल सहकारीले दूधसँगै दही, घ्यू, पनिर र खोयालगायतका दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ। आगामी दिनमा उत्पादन विविधीकरण गर्दै थप नयाँ दुग्धजन्य उत्पादन बजारमा ल्याउने सहकारीको लक्ष्य छ।
स्थानीय किसानको दूधलाई बजारसँग जोड्दै आएको सहकारीले प्रत्यक्ष रूपमा कार्यालय सहयोगी, चालक, लेखालगायत विभिन्न क्षेत्रमा १३ जनालाई रोजगारीसमेत प्रदान गरेको छ।
२५ लिटर दूध संकलनबाट सुरु भएको भगवती दुग्ध उत्पादन सहकारीको यात्रा अहिले दैनिक १५ हजार लिटरसम्म दूध संकलन गर्ने अवस्थामा पुगेको छ। किसानलाई उत्पादन, ऋण, दाना, प्रोत्साहन र बजारको सुनिश्चिततासँग जोड्दै सहकारीले स्थानीय दुग्ध व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको देखिन्छ।





















