कैलाली जिल्लाको टीकापुर क्षेत्रमा लागूऔषधको अवस्था भयावह बन्दै गएपछि यसको रोकथामका लागि आज सचेतनामूलक कार्यक्रमसहित र्याली आयोजना गरिएको छ।
टीकापुर नगरपालिका वडा नम्बर ९ मा पर्ने खक्रौला स्थित नेपाल–भारत सीमा नाकामा सचेतनामूलक र्याली तथा कोणसभा सम्पन्न गरिएको हो। टीकापुर नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा वडा स्तरीय टोल विकास संस्थाको आयोजनामा कार्यक्रम गरिएको हो।
सचेतनामूलक र्याली टीकापुर नगरपालिका वडा नम्बर ९ को बालुवाटारबाट सुरु भई विभिन्न समुदायको परिक्रमा गर्दै नेपाल–भारत सीमा नाका खक्रौलामा पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज प्रहरी नायब निरीक्षक मोती सिंह बम, समाजसेवी सुरेन्द्र देवकर लगायतका वक्ताहरूले लागूऔषध प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असर तथा यसबाट बच्न अपनाउनुपर्ने उपायबारे आफ्ना धारणा राखेका थिए।
वडा स्तरीय टोल विकास संस्थाका अध्यक्ष कृष्णा चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कैलालीको टीकापुर क्षेत्र तथा सीमा नाकाबाट दैनिकजसो लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्न युवाहरू पक्राउ पर्ने क्रम बढ्दै गएपछि स्थानीय बासिन्दामा चिन्ता बढेको देखिन्छ। यस्तो अवस्थामा आयोजना गरिएको सचेतनामूलक कार्यक्रमले स्थानीय स्तरमा केही हदसम्म चेतना फैलाउने विश्वास गरिएको छ।























