टीकापुर | कैलालीको टीकापुर नगरपालिका वडा नं ७ सत्तीमा जलवायु–मैत्री जीविकोपार्जन अन्तर्गत बेमौसमी तरकारी खेती सम्बन्धी तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्लाको आयोजनामा तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालन भइरहेको भ्ऋइीब्द्य ९जिविकोपार्जन र जैविक विविधता संरक्षणका लागि समुदायको सशक्तीकरण० परियोजना अन्तर्गत उक्त तालिम लाभग्राहीहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो।

तालिममा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै दिगो जीविकोपार्जन कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो। सहभागीहरूलाई पूर्व–सूचना प्रणाली, थोपा सिँचाइ प्रविधि, बेमौसमी तरकारी खेती गर्ने तरिका, यसको फाइदा र महत्व, कोकोपिट र मलको मिश्रण प्रयोग गरी प्लास्टिक ट्रेमा बेर्ना उत्पादन गर्ने तरिका, टनेल निर्माण, साथै बेमौसमी तरकारी खेतीबाट छिटो र राम्रो आम्दानी गर्ने उपायहरूबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

तीन दिने तालिममा २ जना पुरुष र १० जना महिला गरी १२ जना लाभग्राहीहरूको सहभागिता रहेको थियो। तालिमको प्रशिक्षकको रूपमा टीकापुर नगरपालिका कृषि शाखाका प्राविधिक अनिता चौधरी र रबिना चौधरी ले सैद्धान्तिक र व्यवहारिक दुवै पक्ष समेट्दै प्रभावकारी प्रशिक्षण प्रदान गर्नु भएको थियो।
त्यसैगरी, तालिमको सहजीकरण परियोजना सामाजिक परिचालक अनिता धामी तथा च्याम्पियन रिता चौधरी ले गर्नु भएको थियो। तालिमले सहभागीहरूलाई जलवायु–अनुकूल कृषि अभ्यासमार्फत आत्मनिर्भर बन्न थप प्रेरणा दिएको आयोजकको भनाइ छ।






















