बर्दिया, कार्तिक ८ – बढैयाताल उद्योग वाणिज्य संघको आयोजनामा नागरिक र प्रहरीबीच अन्तरक्रिया कार्यक्रम इलाका प्रहरी कार्यालय मैनापोखरमा सम्पन्न भएको छ। कार्यक्रममा मैनापोखरबाट सरुवा भई जान लागेका प्रहरी निरीक्षक राजेश कुमार तेलीलाई विदाइ तथा हालै सरुवा भई आएका प्रहरी निरीक्षक अच्युत गिरीलाई स्वागत गरिएको थियो।
कार्यक्रमका सहभागीहरूले प्रहरी र नागरिकबीचको सहकार्यका माध्यमबाट क्षेत्रको शान्ति–सुरक्षा र अमन–चयन सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए। अन्तरक्रियामा खुला सीमाका कारण बढैयाताल क्षेत्रमा लागुऔषधको सेवन र ओसारपसार बढ्दै गएको भन्दै यस्ता क्रियाकलाप नियन्त्रणका लागि प्रहरी र समुदायबीच समन्वय आवश्यक रहेको धारणा राखियो।
व्यवसायीहरूले पनि भारतीय खुला सीमाका कारण स्थानीय व्यवसायमा परेको असरबारे गुनासो गरेका थिए। उनीहरूले भारतीय बजारमा सहज आवतजावतका कारण नेपाली बजार कमजोर बन्दै गएको बताए।
नवागन्तुक प्रहरी निरीक्षक अच्युत गिरीले प्रहरी एक्लैले सबै समस्या समाधान गर्न नसक्ने भन्दै नागरिकको सहकार्य र सूचनाको महत्त्व औंल्याए। उनले शान्ति–सुरक्षासम्बन्धी गतिविधिमा नागरिकको सहयोग बिना दिगो समाधान सम्भव नभएको बताए।
यस अवसरमा बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले प्रहरीलाई जनताको सेवकको रूपमा कार्य गर्न सुझाव दिँदै तल्लो वर्गका नागरिकलाई प्राथमिकतामा राखी सेवा दिनु पर्ने बताएका थिए। उनले पालिका शान्ति–सुरक्षा कायम गर्न सधैं प्रहरीको साथमा रहने प्रतिबद्धता जनाए।
कार्यक्रम बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी रहेका थिए।






















