टीकापुर/ टीकापुर नगरपालिका–६, सत्तिमा अवस्थित श्री उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न भएको छ।
सहकारीका अध्यक्ष डम्बरबहादुर घर्तीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं ६ का अध्यक्ष बलिराम चौधरी प्रमुख अतिथि तथा वडा नं ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले सहकारीले बीउ उत्पादन तथा वितरणमार्फत किसानहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँले विगतमा भारतबाट गुणस्तरहीन बीउ आयात गर्दा किसानहरू उत्पादनमा घाटा खेप्न बाध्य भएको स्मरण गर्दै अहिले स्थानीयस्तरमै गुणस्तरीय बीउ उत्पादन हुन थालेपछि उत्पादन बढेको बताउनुभयो। साथै उहाँले बचतलाई शिक्षा, स्वास्थ्य र व्यवसायमा लगानी गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “थोपाथोपा मिलेर समुद्र बन्ने जस्तै, थोरै–थोरै बचतले ठूलो आवश्यकता टार्न सक्छ।”
विशिष्ट अतिथि न्यौपानेले सहकारीले किसानको मात्र नभई सामाजिक विकासमा समेत योगदान पुर्याइरहेको धारणा राख्नुभयो। कार्यक्रम व्यवस्थापक रामकृष्ण चौधरीले स्वागत मन्तव्य दिएका थिए भने प्रगतिशील बचत तथा ऋण सहकारीका अध्यक्ष गीता चौधरी, पत्रकार गणेश क्षेत्री र सल्लाहकार संयोजक बिरेन्द्र शाहलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
सहकारीका कोषाध्यक्ष पराङ्कुस चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार २०८१/८२ असार मसान्तसम्म सहकारीमा १ हजार ८७ सदस्य आवद्ध भइसकेका छन्। सहकारीले हालसम्म ५३ लाख ३४ हजार ४ सय रुपैयाँ सेयर पुँजी संकलन गरी २ करोड २१ लाख ३ सय ५३ रुपैयाँ कर्जा लगानी गरेको र १० लाख ३२ हजार ८ सय ८६ रुपैयाँ नाफा आर्जन गरेको छ।
२०६२ सालमा ३१ सदस्यबाट सुरु भएको सहकारीले धान, गहुँलगायतका बिउ उत्पादनलाई प्राथमिकता दिँदै आएको छ। हालसम्म १ सय बिगाहा क्षेत्रफलमा उत्पादन गरिएको बीउ कैलाली, कञ्चनपुर, दाङ र चितवनसम्म बिक्री वितरण हुँदै आएको छ। यस वर्षदेखि भने सहकारीले माटोको उर्वराशक्ति बढाउन अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले ढैचा खेतीको बिउ उत्पादन समेत सुरु गरेको जानकारी गराइएको छ।
कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष शसि श्रेष्ठले गर्नुभएको थियो।























