टीकापुर/कैलाली — हिन्दू नारीहरूको महान पर्व तिजको अवसरमा टीकापुर नगरपालिका वडा नं ७, सत्तीमा तिज मिलन, शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।
भानु पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा शनिबार सम्पन्न उक्त कार्यक्रममा पुस्तकालयकी उपाध्यक्ष धनसरी कोईरालाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिमा वडा नं ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने सहभागी भएका थिए।
विशिष्ट अतिथिको रूपमा वडा नं ८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्ला, साविक नारायणपुर गाविसका अध्यक्ष फकिर सिंह कडायत, धनसिहपुर गाविसका अध्यक्ष जंगबहादुर साउद लगायतको उपस्थिति थियो।
खुमा तिवारीको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रममा पत्रकार मानबहादुर ठकुल्ला, पत्रकार भिम बिक, दिगो विकास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक तारा साउद, वडा सदस्य कैलाशपति चौधरी, पुस्तकालयका अध्यक्ष मनिराम ढुंगाना, खानेपानी सरसफाइ संस्थाका अध्यक्ष धनसिह साउद लगायतले शुभकामना मन्तव्य दिएका थिए।
बक्ताहरूले तिजलाई संस्कृतिको संरक्षण गर्ने खालको पर्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय विकसित हुँदै गएको विकृति नियन्त्रण गर्नुपर्ने आवश्यकतामा ध्यानाकर्षण गराएका थिए।























