टीकापुर / कैलाली — टीकापुर नगरपालिका–८, बटनपुरस्थित धनसिहपुर ग्रामीण विद्युत सहकारी संस्था नयाँ नेतृत्वविहीन बनेको नौ महिना पुगिसक्दा पनि अझै पुरानै सञ्चालक समितिबाट कार्यसञ्चालन भइरहेको छ।
२०७८ पौष ६ गते भएको निर्वाचन साधारण सभापछि हालसम्म नयाँ समिति चयन हुन नसकेको संस्थाका व्यवस्थापक डिक्रा साउदले जानकारी दिए। उनका अनुसार, अध्यक्ष रणबहादुर साउदको अध्यक्षतामा पुरानै सञ्चालक समितिले २०८१/१०/२९, २०८२/०१/१० र २०८२/२/७ गते बैठक बसी सामान्य प्रकृतिका निर्णयहरू मात्र गरेको छ।
निर्वाचन समितिका संयोजक भीमबहादुर महरका अनुसार सो साधारण सभामा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो। रणबहादुर साउदको प्यानलबाट उपाध्यक्षमा मनसरा साउद, सचिवमा रतन खत्री, कोषाध्यक्षमा योगेन्द्र साउदले उम्मेदवारी दिएका थिए भने अर्का पक्षका धनसिह साउदले अध्यक्षमा, कृष्ण नेपालीले उपाध्यक्षमा, ईश्वर चौधरीले सचिवमा र मनसरा देवी विकले कोषाध्यक्षमा उम्मेदवारी दिएका थिए।
तर, राजनीतिक खिचातानी र आपसी असहमतिका कारण नयाँ नेतृत्व चयन प्रक्रिया टुंगिन नसकेको संयोजक महरले बताए। “दुवै प्यानललाई सहमतिका लागि बारम्बार आग्रह गरिए पनि सहमति हुन सकेन,” उनले भने।
महरका अनुसार सहकारी तथा नगरपालिकाका नियमअनुसार दुई कार्यकाल पूरा गरिसकेपछि अध्यक्ष पुनः तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न नपाउने व्यवस्था छ। सो व्यवस्था अनुसार रणबहादुर साउदको उम्मेदवारी अमान्य हुने देखिएको बताइएको छ।
संयोजक महरले निकट भविष्यमै दुवै पक्षलाई सहमतिका लागि अन्तिम पटक बोलाइने बताए। “सहमति नभएमा निर्वाचन समिति नै राजीनामा दिन बाध्य हुनेछ,” उनले चेतावनी दिए।























