विज्ञापन

अधुरो सालिक, पुरा विवाद

Image

अधुरो सालिक, पुरा विवाद
ठाकुरबाबाको थारु चोकमा कला, पहिचान र सहमतिको टकराव

बर्दियाको ठाकुरबाबा नगरपालिका–९ स्थित थारु चोकमा निर्माणाधीन अवस्थामा रहेको एक सालिकमाथि भएको तोडफोडले सामाजिक र राजनीतिक क्षेत्र तताएको छ । माटोले बनेको एउटा अधुरो आकृतिले सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिसम्म एकैचोटि भूकम्प मच्चायाे । प्रारम्भिक माटोको आकृति बनिरहेको अवस्थामा स्थानीय केही व्यक्तिले सालिकमा तोडफोड गरेपछि एक सर्जनात्मक प्रयास, विवादको बम बनेर विस्फोट भयो।

विवादको केन्द्रमा रहेको प्रश्न एउटै छ—के यो आकृति थारु समुदायको संस्कृति प्रतिनिधित्व गर्ने कलात्मक प्रयास हाे, वा कुनै जीवित व्यक्तिको शालिक ?

ठाकुरबाबा नगरपालिकाले यो सालिक थारु पहिचान झल्काउने उद्देश्यले बनाइरहेको बताएको छ । नगरप्रमुख तिलक लम्साल र उपप्रमुख बिना कुमारी भट्टराई दुवैले सालिक ‘सामूहिक सांस्कृतिक प्रतिनिधित्व’ को रूपमा बुझिनुपर्ने धारणा राख्नुहुन्छ । उपप्रमुख भट्टराई भन्नुहुन्छ, “हामीले पहिरन र गहनाको आधारमा थारु महिला प्रतिनिधित्व गर्ने आकृति बनाउन भनेका थियौं, अनुहार उस्तै बनाउने उद्देश्य हैन् । तर स्थानीयस्तरमा भने यसलाई फरक रूपमा लिइएको देखियाे ।”

आलोचकहरूका अनुसार सालिक बनाउँदा सपना चौधरी र मिलन थारु नामक व्यक्तिहरूको फोटो सन्दर्भमा राखिएको थियो, जसले विवाद जन्माएको हो । नामसहित पहिचान जोडिएको आकृतिले सांस्कृतिक भन्दा व्यक्तिगत प्रतिनिधित्व गरेको तर्क प्रस्तुत गरिएको छ ।

यसबीच सपना चौधरीकाे आमा सीता चाैधरीले तस्बिरको दुरुपयोग भएको बताउँदै छाेरी सपना चाैधरी अध्ययनको सिलसिलामा देश बाहिर रहेको जानकारी गराउनुभयाे । उहाँले विवाद ठुलाे भएकाे कारण इलाका प्रहरी कार्यालयमा निवेदन नदिई जिल्ला प्रहरी कार्यालय गुलरिया पठाइएको सुनाउनुभयाे । यसै गरी मिलन थारूले भन्नुहुन्छ, “मेराे आफन्तले उपमेयरकाे नाम लिएर होटेलमा राख्ने पेन्टिङ बनाउने हो भनेर मसँग फाेटाे मागनुभयाे । मुर्ती बनाउने कुरा भने मलाई थाहा भएन ।”

कानुनविद्हरूले सालिक अझै निर्माणकै क्रममा भई पूर्ण नभएकाेले यस्तो अवस्थामा यो कानुनी भन्दा पनि सामाजिक वा नैतिक विषय बनेको बताउनुभयाे ।

ठाकुरबाबा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पनि घटनालाई अनावश्यक रूपमा भड्काइएको ठान्दै भन्नुहुन्छ, “कुनै आकृति माटोमै छँदा त्यसलाई लिएर यसरी विरोध गर्नु समाजमा प्रतिकूल असर पार्ने खालको प्रतिक्रिया हो। यसले समुदायभित्र अविश्वास र डर सिर्जना गरेकाे छ ।”

सामाजिक र सांस्कृतिक रूपमा संवेदनशील क्षेत्रमा कुनैपनि सिर्जना अघि स्पष्ट संवाद र साझेदारी अपरिहार्य हुन्छ भन्ने सन्देश यो घटनाबाट पाइन्छ ।

स्थानीय पर्यटन व्यवसायीहरू र सांस्कृतिक अभियन्ताहरू भने पालिकाले आवश्यक सहमति नलिएको, सांस्कृतिक संवेदनशीलता नबुझेको र स्थानीय सहभागिता नजोडेको भन्दै आलोचना गर्छन् । उनीहरू सुझाव दिन्छन्—थारु संस्कृति झल्काउने संरचना मौलिक र सामूहिक हुनुपर्छ। जस्तै, थारु समुदायमा प्रचलित ‘घैला’, ‘खोदना’, ‘ढकिया’, ‘मयूरपङ्खी’, वा सामुहिक नृत्य आकृति जस्ता संरचनाले पहिचान र गर्व दुवै दिलाउँथ्यो ।

यस घटनाले एउटा महत्वपूर्ण पाठ दिएको छ—कला, संस्कृति र सामुदायिक पहिचान जस्ता विषयहरूमा ‘थोपिने निर्णय’ ले भन्दा ‘समावेशी संवाद’ ले दीगो समाधान दिन्छ। जनप्रतिनिधिले समुदायसँगको गहिरो संवाद बिना सांस्कृतिक संरचना निर्माण गर्दा असमझदारी र विवाद सिर्जना हुनु स्वाभाविक हो ।

विवादले स्पष्ट पारेको छ—कलात्मक प्रयास जति सशक्त भए पनि त्यसले प्रतिनिधित्व गर्ने समुदायको भावना र सहभागिता सुनिश्चित नभए, त्यो प्रयास अधुरो मात्र होइन, अस्वीकार्य पनि बन्न सक्छ। त्यसैले, अगाडि बढ्न चाहने जुनसुकै तहका संरचना निर्माणकर्ताहरूले अब कला र पहिचानका बीच संवादको सेतु निर्माण गर्नुपर्ने जरुरी देखिएको छ।

अहिले निर्माणाधीन सालिक त अधुरो छ, तर त्यसले जन्माएको विवाद भने सम्पूर्ण बनिसकेको छ। यस्ता घटना बारम्बार दोहोरिन नदिन स्थानीय सरकार, कलाकार र समुदायबीचको आपसी सम्वाद र साझेदारीको अभ्यास अब अनिवार्य बन्नुपर्छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन