बर्दिया / माइती नेपाल बर्दियाले विगत केहि बर्ष देखि जिल्लामा मानव बेचबिखन र ओसारपसार नियन्त्रणमा नेतृत्वकारी भूमिका निभाउँदै आएको छ ।
हाम्रो आवाज स् चेलिबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी संचारकर्मीहरूसंग अन्तर्क्रिया कार्यक्रम आयोजना गरी संस्थाले जनचेतना र सहयोगका लागि विभिन्न कार्यहरू गरिरहेको जानकारी सार्वजनिक गरेको हो ।
नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्ष निर्मल घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा माइती नेपाल गुलरिया बर्दियाको संयोजक गायत्री रिमालले सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म माइती नेपालले गरेका क्रियाकलापहरू बारे जानकारी गराउँदै ३ सय ३५ जनालाई जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धार गरी आवधिक गृहमा प्रवेश गराई आवश्यक परामर्श प्रदान गरिएको बताउनुभयो ।
उहांले ३ सय ३५ जना मध्ये जिल्लाको गुलरिया नगरपालिकाका ३९ जना, बाँसगढी नगरपालिकाका ३८ जना बढैयाताल गाउँपालिकाका ७७ जना, मधुबन नगरपालिकाका २९ जना बारबर्दिया नगरपालिकाका २३ जना, राजापुर नगरपालिका ४ जना, ठाकुरबाबा नगरपालिकाका ७ जना र गेरूवा गाउँपालिकाका ९ जना गरी जम्मा २ सय २६ जना रहेको छन् भने बाँकि अन्य जिल्लाको रहेका छन् भन्नुभयो ।

संयोजक रिमाल भन्नुहुन्छ, यस बर्ष १८ हजार ५ सय ७५ जनालाई मानव बेचबिखन तथा असारपसार र सुरक्षित बसाईसराईबारे जानकारी गराइएको छ । ३ सय ९० जनालाई मानव बेचबिखन र सुरक्षित बसाइसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइयो । श्रम र यौन शोषणमा परेका ३ जनाको उद्धार, ७७ जनालाई मानव बेचबिखन र सुरक्षित बसाईसराई बारे बोर्डरबाट परामर्श दिई घर फिर्ता र ५ सय ८ जना किशोर किशोरीहरूलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जानकारी एवं परामर्श दिएको छ ।
उहाँले संस्थामा ६७ जनालाई खोजतलासको लागि निवेदन परेकोमा १७ जना फेला परेको, ३९ वटा घरेलु हिंसाका घटना मध्ये ३७ वटा समाधान गरेको, ४ जना बेचबिखनका घटना मुद्दा दर्ता भएको र ५३ वटा जबरजस्तीकरणी मुद्दा दर्ता भएकोमा आवश्यक सहयोग र परामर्श गरेको जानकारी दिनुभयो ।
संयोजक रिमालका अनुसार माइती नेपालले स्थापनाकाल देखि मानव बेचबिखन रोकथाम उद्धार र पुनस्थापनाका कार्यहरू गर्दै आएको छ । नेपाल प्रहरी, भारतीय प्रहरी र भारतको विभिन्न सङ्घसंस्थाको सहयोगमा संस्थाले काम गरिरहेको छ। माइती नेपालको गुलरिया नगरपालिकाको सुरजपुर, बढैयाताल गाउँपालिकाको बलैगाउँ र मधुवन नगरपालिकाको शक्तिपुरमा परामर्श सेवा रहेको छ।
विभिन्न संचार माध्यममा आवद्व संचारकर्मीहरूको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रम माईती नेपाल गुलरिया बर्दियाको आयोजना र नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा भएको थियो ।























