
राजापुर / बर्दिया जिल्ला स्थित राजापुर नगरपालिकाको १२ औँ हिउँदे नगरसभाले विभिन्न २३ वटा ऐन, विधेयक र कार्यविधि तथा निर्देशिकाहरु पारित गरेको छ ।
आज बसेको राजापुर नगरसभाले वातावरण तथा प्राकृतिक संरक्षण विधेयक, शिक्षा ऐन २०८० संशोधन, जनप्रतिनिधि तथा पदाधिकारीको आचार संहिता निर्देशिका, आर्थिक ऐन २०८० लगाएतका २३ वटा ऐन, विधेयक र कार्यविधि पारित गरेको हो । नगर सभामा प्रस्तुत उक्त कार्यविधि गत श्रावण महिना देखि माघ २८ गते सम्म बिभिन्न मितिमा बसेको कार्यपालिका बैठकबाट पारित भएका निर्णयहरु हुन । राजापुर नगरपालिकाका नगरप्रमुख राजेश थारुले छलफल र पारितका लागि उक्त प्रस्तावहरु सभामा पेश गर्नुभएको थियो । सभामा पेश गरिएका प्रस्तावहरु सर्वसम्मत पारित भएको नगर प्रमुख थारुले जानकारी दिनुभयो ।
यस्तै नगर सभामा बर्षभरी उत्कृष्ट कार्य गर्ने २ जना कर्मचारीलाई जनही रु. ५० हजारका दरले नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो । सम्मान पाउनेमा रोजगार सयोंजक रमेश पोखरेल र लेखापाल हुकुम बोहरा हुन । त्यसैगरी नगर भित्र उत्कृष्ट कार्यसम्पादन गर्ने निर्माण उपभोक्ता समिति र गुणस्तरीय एवं निर्धारित समयमै निर्माणको काम गर्ने निर्माण व्यवसायीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।






















