दाङ | ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशसभाको प्रवेशद्वारमा मंगलवार विशेष कार्यक्रमसहित दीप प्रज्वलन गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, लुम्बिनी प्रदेशको आयोजनामा गरिएको यस कार्यक्रमले अपांगता भएका व्यक्तिहरूका अधिकार, समावेशीता र समानताको एजेन्डालाई पुनः उजागर गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमका प्रमुख वक्ता लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले अपांगता भएका व्यक्तिहरूका अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार निरन्तर सक्रिय रहेको बताइन्। उनले समावेशी समाज निर्माणको अन्तिम लक्ष्य “समान अवसर र सम्मानपूर्ण जीवन” भएको उल्लेख गर्दै राज्य, समुदाय र संस्थाहरूको साझा भूमिकाको आवश्यकता औँल्याइन्।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेशसभाले अपांगता क्षेत्रको आवाजलाई नीतिगत प्रक्रियामा समेट्दै आएको जानकारी दिए। उनले समाजका सबै संरचना “अपांगतामैत्री” बनाउन संस्थागत सहकार्य अपरिहार्य रहेको धारणा राखे।
सामाजिक विकास मन्त्रालयकी महाशाखा प्रमुख संझना सुवेदीले अपांगता भएका व्यक्तिलाई लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका सदस्य केशव भुसालले सरकारी–गैरसरकारी समन्वय नै अपांगता क्षेत्रमा देखिएका चुनौती समाधानको मुख्य कुञ्जी भएको बताए।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले सञ्चारमाध्यमले अपांगता सम्बन्धी विषयवस्तुलाई पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै जनचेतनाको अभाव अझै चुनौती बनेको बताए।
अपांग सञ्जाल राप्तीका अध्यक्ष ऋषिराम बस्नेतले भौतिक पूर्वाधारदेखि सेवा–सुविधासम्म सबै क्षेत्रमा अपांगतामैत्री वातावरण सुनिश्चित गर्न राज्यका सबै निकाय गम्भीर हुनुपर्नेमा जोड दिए।
कार्यक्रमको संचालन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक धिरेन्द्र विकेले गरेका थिए।
दाङ–देउखुरीबाट हाम्रा सहकर्मी सन्तोषकुमार गुप्ताले जानकारी गराएका छन्।























