राजापुर/ राजापुर नगरपालिका–९ इश्वरीगञ्जकी ब्रेन ट्युमर पीडित जुगरी थारुको उपचार सहयोगका लागि भौराटप्पा बुलेटिनको पहलमा भएको चन्दा अभियानले वास्तविक प्रभाव देखाउन थालेको छ। समाजसेवी इम बहादुर केसीको नेतृत्वमा संकलित १ लाख ८२ हजार रुपैयाँ जुगरीका श्रीमान् राम बहादुर थारुलाई हस्तान्तरण गरिएको थियो।
देश–विदेशबाट सहयोग गर्ने दाताहरूले जुगरी थारुको अवस्थाबारे निरन्तर बुझ्न आग्रह गरेपछि भौराटप्पा बुलेटिनको टोली इश्वरीगञ्ज पुगेको हो। भेटघाटका क्रममा श्रीमान् राम बहादुरले संकलित रकमले परिवारलाई बिहान–बेलुकाको छाक टार्नदेखि औषधोपचार खर्च पुर्याउन ठूलो राहत मिलेको जानकारी दिए।
उनका अनुसार उपचार प्रयोजनका लागि अझै १ लाखभन्दा बढी रकम सुरक्षित रूपमा बैंक खातामा राखिएको छ। कठिन परिस्थितिमा साथ दिई हातेमालो बढाउने भौराटप्पा बुलेटिनका मनकारी पाठक तथा दाताहरूप्रति परिवारले गहिरो कृतज्ञता प्रकट गरेको छ।
समय–समयमा विपत्तिमा परेकालाई सहयोग पुर्याउने समुदायको यो मानवीय भावना प्रेरणादायी रहेको भौराटप्पा बुलेटिनले जनाएको छ।






















