विज्ञापन

नीति निर्माण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

Image

बर्दिया, असोज ८ – थारू महिला उत्थान केन्द्र गुलरियाको आयोजनामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण र अपाङ्गता मैत्री नीतिगत व्यवस्थाबारे एक दिने पालिका स्तरीय संवाद कार्यक्रम बढैयाताल गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाभित्र निर्माण भएका ऐन, नियमावली, कार्यविधि र निर्देशिकाहरू आवश्यकताअनुरूप बने/नबनेको, कार्यान्वयनको अवस्था, समयानुकूल संशोधनको आवश्यकता तथा लैङ्गिक समानता र समावेशीकरण सम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो ।

थारू महिला उत्थान केन्द्रका कार्यक्रम अधिकृत शेखर दहितले सहजीकरण गरेको कार्यक्रममा महिला हिंसा नियन्त्रण, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितता, लैङ्गिक समानता, र पालिकाले निर्माण गरेका नीति–नियमहरूको प्रभावकारी कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे सरोकारवालाहरूले सुझाव दिएका थिए ।

गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, वडा अध्यक्षहरूलगायतले समयानुकूल परिमार्जन गर्दै कार्यान्वयनमा ल्याउन कार्यपालिका स्तरमा छलफल गरी आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

हालसम्म बढैयाताल गाउँपालिकाले २४ वटा ऐन, ७ वटा नियमावली, ३८ वटा कार्यविधि, ५ वटा निर्देशिका र २ वटा रणनीतिक योजना निर्माण गरिसकेको र तीमध्ये कतिपय कार्यान्वयनमा समस्या देखिएको विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडा अध्यक्ष, सञ्चारकर्मी, थारू महिला उत्थान केन्द्रका कार्यक्रम अधिकृत तेजमणि पन्त, शेखर दहितल, प्रोजेक्ट कोअर्डिनेटर किशोर थारूलगायतको सहभागिता थियो ।
थारू महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारूको सभापतित्वमा तथा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विज्ञापन
विज्ञापन
विज्ञापन