विज्ञापन

जनप्रतिनिधिको घरमा दिनदहाडै चोरी, बालबालिकाको संलग्नता आशंका

Image

बढैयाताल / बढैयाताल गाउँपालिका वडा नं. ६ की दलित महिला जनप्रतिनिधि बालकुमारी बिकको घरमा दिनदहाडै चोरी भएको छ। श्रावण ४ गते दिउँसो अन्दाजी ३ बजेतिर घरमा कोही नभएको मौका छोपी चोरहरूले ढोका फोडेर चोरी गरेका हुन्।

पीडित बालकुमारी बिकका श्रीमान् हरिलाल बिकका अनुसार, चोरहरूले घरभित्रको बाकस फोरेर रु। २६,००० नगद र एक थान चाँदीको औंठी चोरी गरेर लगेका छन्। चोरी भएको घर मैनापोखर गिदरपुर भित्री सडक खण्डको एकान्त स्थानमा रहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, चोरहरूले घर सुनसान भएको मौका पारी योजनाबद्ध ढंगले चोरी गरेका हुन्।

पीडित परिवारले घटना सम्बन्धी उजुरी ईलाका प्रहरी कार्यालय मैनापोखरमा दर्ता गरिसकेको छ। प्रहरी निरीक्षक राजेश तेलीका अनुसार, प्रारम्भिक अनुसन्धानबाट उक्त चोरी घटनामा केही बालबालिका संलग्न रहेको देखिएको छ। अहिले प्रहरी टोलीले उनीहरूको अभिभावकहरूसँग बयान लिने प्रक्रिया अगाडि बढाइरहेको छ।

तेलीले थप जानकारी दिँदै भने, “बालबालिकाको संलग्नता पुष्टि हुँदै गएको छ भने अन्य वयस्क व्यक्तिहरू पनि संलग्न छन् वा छैनन् भन्ने विषयमा अनुसन्धान भैरहेको छ।”

स्थानीय जनप्रतिनिधिको घरमै खुलेआम चोरी हुनु सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गरिरहेको छ। यस घटनाले गाउँपालिकाभित्र आपराधिक गतिविधि बढ्दै गएको संकेत गरेको स्थानीय बासिन्दाहरूको भनाइ छ।

विज्ञापन
विज्ञापन
विज्ञापन