
राजापुर / इलाका प्रहरी कार्यलय राजापुर बर्दियाले आर्थिक बर्ष २०८०/८१ मा २६ मुद्दा फर्छयौट गरेको छ । विभिन्न प्रकृतिका ४७ मुद्दा दर्ता भएकोमा २६ मुद्दा फर्छयौट गरेको र बाकी प्रक्रियामा रहेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले जानकारी दिनुभयो । आज आयोजित सार्बजनिक सुनुवाइ कार्यक्रम मार्फत सो कुराको जानकारी गराइएको हो । चालू आर्थिक बर्ष ०८१/०८२ मा ६ मुद्दा दर्ता भएको जनाइएको छ । भन्सार चोरी पैठारी बापतका घटनाबाट २ लाख २३ हजार ६ सय ८० रुपैयाँ वरावरका सामान राजापुर भन्सार कार्यालयमा बुझाएको जानकारी गराइयो ।
कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिकाका उप प्रमुख मनकला कुमारी चौधरीले ईलाका प्रहरी कार्यलय राजापुरको सक्रियता प्रती प्रसंशा अझै समाजका रहेका विकृति र विसंगतिका विरुद्धमा काम गर्नु पर्ने, यस्ता विषयमा समुदायलाई सुसूचित गर्न निरन्तर लाग्न सुझाउनुभयो ।
सार्वजनिक सुनुवाइमा उपस्थित अधिकांश वक्ताहरुले राजापुरमा इलाका प्रहरीले पहिलो पटक सार्वजनिक सुनुवाई गरेर सोकारवालाहरुको मत लिएको भन्दै यस क्षेत्रमा बालविवाह, लागु पदार्थ र्दूव्यसनी, सडक दुर्घटना, बजार अनुगमन, बजार क्षेत्रको व्यवस्थापन, भन्सार र चोरी निकासी लगायतका समस्या रहेकाले यसमा प्रहरीले प्रत्यक्ष परोक्ष रुपमा सहयोग गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा वडा नम्बर ५,६, र ८ का अध्यक्षहरुले समुदायमा लागुऔषध प्रयोगकर्ता बढ्दै गएकाले यस तर्फ ध्यान दिनुपर्ने बारे सुझाएका छ्न् । कार्यक्रममा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि , वडा अध्यक्षहरु,उद्योगी ,व्यापारी ,शिक्षक, बरघर,सञ्चारकर्मी लगायतको सहभागी रहेको थियो ।
बर्दिया उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमको प्रहरी निरीक्षक नविन थापा मगरले सञ्चालन गर्नु भएको थियो ।






















