विज्ञापन

अति विपन्न २५ परिवारलाई निःशुल्क सोलार बत्ती वितरण

Image

बर्दियाको बढैयाताल गाउँपालिका–७ ले विद्युत् पहुँचबाट वञ्चित अति विपन्न २५ परिवारलाई निःशुल्क घरेलु सोलार बत्ती वितरण तथा जडान गरेको छ।

लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आर्थिक सहयोग र वडा नं. ७ कार्यालयको समन्वयमा विद्युत् जडान गर्न नसकेका अति विपन्न परिवार छनोट गरी सौर्य ऊर्जा प्रणाली उपलब्ध गराइएको वडा अध्यक्ष राधेश्याम थारूले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत बकोटिया टोलका ७, पचासा टोलका २, कण्ठपुर टोलका ७, कर्णालीपुर टोलका १, पडरिया टोलका ७ र राजापुर टोलका १ गरी कुल २५ घरधुरीमा घरेलु सोलार बत्ती घर–घरमै जडान गरिएको हो।

सोलार बत्ती पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। पडरिया टोलका धनीराम पासीले अहिलेसम्म अन्धकारमा जीवन बिताउनुपरेको भन्दै अब घर उज्यालो भएको र बालबालिकाले राति पनि सहज रूपमा पढ्न पाउने बताए।

यस्तै, पचासा टोलकी बिमला नेपालीले सोलार बत्ती पाएपछि “गाउँमै सिंहदरबार आएको अनुभूति भएको” प्रतिक्रिया दिँदै घर उज्यालो हुँदा मन पनि उज्यालो भएको बताइन्।

बकोटिया टोलकी रिमा थारूले पनि वर्षौंदेखि अन्धकारमा जीवन बिताउनुपरेको स्मरण गर्दै सोलार बत्तीले आफ्नो जीवनमा नयाँ आशा र उज्यालो ल्याएको बताइन्। उनले सरकारले गरिबको पक्षमा काम गरिरहेको अनुभूति भएको उल्लेख गरिन्।

वडा कार्यालयले आगामी दिनमा पनि विद्युत् पहुँचबाट वञ्चित तथा विपन्न परिवारलाई लक्षित गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन