टीकापुर | इलाका प्रहरी कार्यालय टीकापुरले आर्थिक वर्ष २०८२/८३ को फाल्गुन मसान्तसम्म सजाय पाई फरार रहेका ८४ जना कैदीलाई पक्राउ गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ परेका मध्ये ३९ जना जनजी आन्दोलन सम्बन्धी मुद्दामा फरार रहेका थिए भने ५५ जना अदालतबाट सजाय पाई फरार रहेका अभियुक्त हुन्।
प्रहरीले सो अवधिमा १२ लाख २३ हजार रुपैयाँ बराबरको अवैध रकम बरामद गरेको छ। साथै लागूऔषध सम्बन्धी कसुरमा ७८ पुरुष र १ महिला गरी ७९ जनालाई पक्राउ गरी ५२ वटा मुद्दा दर्ता गरिएको जानकारी दिएको छ।
त्यसैगरी, फाल्गुन मसान्तसम्म कर्तव्य ज्यान १, झुण्डिएर आत्महत्या २९, बहुविवाह १, जुवा ३, ज्यान मार्ने उद्योग ७ र हुण्डी कारोबारमा संलग्न २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक डाँगीले अपराध हुन नदिनु पहिलो प्राथमिकता भएको र अपराध भइसकेपछि अपराधी उम्किन नपाओस् भन्ने उद्देश्यका साथ प्रहरीले सक्रियता बढाएको बताए।
यसैबीच, लागूऔषध सम्बन्धी मुद्दामा सजाय पाई फरार रहेका टीकापुरका युवराज थापालाई धर्मराज साउँदको कमाण्डमा पक्राउ गरिएको छ।
प्रहरीले फाल्गुन मसान्तसम्म ६६ ग्राम ६०० मिलिग्राम खैरो हिरोइन, १९ थान ट्रामाडोल, २ ग्राम ८६० मिलिग्राम चरेस र २९० मिलिग्राम गाँजा समेत बरामद गरेको जनाएको छ।























