
बर्दिया । चाडपर्व नजिकिँदै गर्दा स्थानीय तहमा वन, जंगल र वन्यजन्तु संरक्षणबारे सचेतना फैलाउने उद्देश्यसहित बर्दियामा बाइक र्याली सम्पन्न भएको छ।
बिहान मधुवन नगरपालिका–९ सूर्यपटुवाबाट सुरु भएको सो र्याली ओराली बजार, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका–२ र ५ हुँदै राजापुर बजारमा पुगेर समापन भएको हो। करिब ६० भन्दा बढी बाइकसवार सहभागी र्यालीमा संरक्षणकर्मी, बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, जबरजंग गण गुल्ममा कार्यरत नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय युवाको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमबारे जानकारी दिँदै सीबिएपियु (Community Based Anti-Poaching Unit)सञ्जाल बर्दियाका सहसचिव संजय चौधरीले चाडपर्वको बेला जनसाधारणमा वन तथा वन्यजन्तु संरक्षणको सन्देश फैलाउन र्याली आयोजना गरिएको बताए। उनका अनुसार, पर्वतिहारका समयमा वन्यजन्तु शिकार, अवैध काठ कटानी तथा वन अतिक्रमणको जोखिम बढ्ने भएकाले जनस्तरमा सचेतना जगाउन यस्तो अभियान आवश्यक ठहरिएको हो।
र्याली राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा सम्पन्न गरिएको थियो। सो अवसरमा सहभागीहरुले “वन र वन्यजन्तु जोगाऔं, सहअस्तित्व कायम गरौं” भन्ने नारासहित विभिन्न सचेतनामूलक सन्देश प्रवाह गरेका थिए।
सञ्जालका अध्यक्ष गोबिन्द थारुले र्यालीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्दै सहअस्तित्वमा आधारित संरक्षण अभ्यासलाई सुदृढ पार्ने विश्वास व्यक्त गरे। उनका अनुसार, यस्ता जनचेतनामूलक गतिविधिले समाजमा सकारात्मक प्रभाव पार्ने र स्थानीयलाई संरक्षण अभियानमा थप सक्रिय सहभागी बनाउन सहयोग पुर्याउनेछ।
संरक्षणकर्मीहरुले चाडपर्वका बेला वन्यजन्तु तथा प्राकृतिक स्रोतको उपयोग गर्दा सचेत रहन सबैलाई आग्रह गर्दै वातावरणीय सन्तुलन जोगाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेको जनाएका छन्।























