विज्ञापन

बर्दियाबाट भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण अभियान सुरु, बढैयातालका २९ परिवार लाभान्वित

Image

भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० वितरण गर्ने अभियान बर्दियाबाट औपचारिक रूपमा सुरु गरिएको छ।

वर्तमान सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत जिल्ला भूमि समस्या समाधान समिति बर्दियाको आयोजनामा बुधबार बढैयाताल गाउँपालिका–४ बाट अभियानको शुभारम्भ गरिएको हो। कार्यक्रममा वडा नम्बर ४ का भूमिहीन दलित २ जना र भूमिहीन सुकुम्बासी २७ जना गरी कुल २९ घरपरिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।

कार्यक्रमको उद्घाटन ६० वर्षीया दृष्टिविहीन फूलकुमारी थारूलाई पहिलो जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गर्दै गरिएको थियो।

जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय भूमि समस्या समाधान आयोगका अध्यक्ष बलभद्र बास्तोला प्रमुख अतिथि तथा आयोगका सदस्य पद्मनिधि सोती विशिष्ट अतिथि रहनुभएको थियो।

त्यसैगरी बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, जिल्ला भूमि समस्या समाधान समितिका सदस्यहरू, गाउँपालिकाका वडा अध्यक्षहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बलभद्र बास्तोलाले सरकारको १०० दिने कार्ययोजनाअनुसार अभियान सुरु गरिएको र ५ सय दिनभित्र भूमि समस्या समाधानसम्बन्धी कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

उहाँले वास्तविक भूमिहीनको पहिचानका लागि जग्गा नभएको आधार मात्र पर्याप्त नहुने भन्दै परिवारको आम्दानी, रोजगारी, अचल सम्पत्ति, बैंक मौज्दात, शेयरलगायतका आधारमा विस्तृत अध्ययन र छानबिनपछि मात्रै लाभग्राही छनोट गरिने स्पष्ट पार्नुभयो। झुटो विवरण वा गलत सिफारिसका आधारमा लाभ लिन खोज्ने प्रयास नगर्न पनि उहाँले आग्रह गर्नुभयो।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले भूमिहीनलाई लालपुर्जा वितरण अभियानको सुरुवात आफ्नै पालिकाबाट हुनु गौरवको विषय भएको उल्लेख गर्दै अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले वडा भूमि सहजीकरण समितिलाई आवश्यक तथ्यांक संकलन गरी यथार्थ विवरण यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिनुभयो। तोकिएको काम समयमै सम्पन्न भए प्रमाणपुर्जा वितरण प्रक्रिया पनि तीव्र हुने उहाँको भनाइ थियो।

उहाँले गलत विवरण वा झुटो सिफारिसका आधारमा कसैले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेमा पछि छानबिनका क्रममा त्यस्तो प्रमाणपुर्जा बदर हुन सक्ने भएकाले सबैलाई जिम्मेवार र सचेत हुन आग्रह गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले राख्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन बढैयाताल गाउँपालिका वडा नम्बर ४ ले गरेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन