टीकापुर, कैलाली। कैलालीको टीकापुर नगरपालिका–६ स्थित बेलुवा खेलमैदानमा ‘स्वर्गीय प्रज्वल केसी कप खुला फुटबल प्रतियोगिता–२०८३’ साउन ७ गतेदेखि सञ्चालन हुने भएको छ।
कालिका युवा क्लब, नारायणपुरको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजन स्वर्गीय प्रज्वल केसीका बुवा टोपबहादुर केसी र आमा लक्ष्मी केसी ले गर्नुभएको हो।
आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रतियोगितामा विभिन्न स्थानका टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
मुख्य प्रायोजक टोपबहादुर केसीका अनुसार प्रतियोगिताको विजेता टोलीले रु ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा नगद पुरस्कार र मेडल प्रदान गरी सम्मान गरिने आयोजकले जनाएको छ।
स्वर्गीय प्रज्वल केसीको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय खेलकुदको विकास, युवाहरूमा खेलप्रति आकर्षण बढाउने तथा नयाँ प्रतिभाको पहिचान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले लिएको छ।























