बर्दियाको बढैयाताल गाउँपालिका–३, सिमरामा शुक्रबार साँझ चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना सामान्य घाइते भएका छन्।
शुक्रबार साँझ करिब ५ बजेतिर आफ्नै घर नजिकको खेतमा धान रोपाइँ गरिरहेका बेला चट्याङ पर्दा स्थानीय ४५ वर्षीय बेलास कुर्मी गम्भीर घाइते भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मैनापोखरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उनलाई तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ।
उक्त घटनामा सँगै धान रोपाइँ गरिरहेका अन्य तीन स्थानीय पनि सामान्य घाइते भएका थिए। घाइतेमध्ये १६ वर्षीया गायत्री कुर्मीको स्थानीय मेडिकलमा उपचार गरिएको र उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको आफन्तले बताएका छन्।
घटना लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्चुत गिरीले जानकारी दिए।
मृतक बेलास कुर्मीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको प्रहरीले जनाएको छ।























