बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाजको तीन–तीन महिनामा हुने १३औँ केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ। बैठक समाजको बर्दिया जिल्ला शाखाको आतिथ्य तथा राजापुर नगर समितिको समन्वयमा आयोजना गरिएको हो।
कार्यक्रममा नेपालका सर्वाधिक शतक रक्तदाता, १८७ पटक रक्तदान गरिसक्नुभएका समाजका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका कोषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई सम्मान गरिएको थियो।
राजापुर नगरपालिकाका प्रमुख दीपेश थारुले राजापुरमा सिक्लेसेल एनिमिया भएका बिरामीको संख्या धेरै भएकाले रगतको आवश्यकता पनि बढी रहेको बताउँदै रक्तदानप्रति सबैलाई सचेत हुन आग्रह गर्नुभयो।
समाजका बर्दिया जिल्ला शाखा अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेमप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख दीपेश थारु, उपप्रमुख मनकला चौधरी तथा अन्य अतिथिहरूले केन्द्रीय पदाधिकारीहरूको स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रमकै अवसरमा ५ जनाले रक्तदान गरेका थिए। नगर प्रमुख थारुले रक्त संकलन थैली हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले आतिथ्य संस्था बर्दिया जिल्ला शाखालाई धन्यवाद–पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूलाई बर्दिया जिल्ला शाखाले टी–सर्ट प्रदान गरी सम्मान गरेको थियो।






















