विज्ञापन

श्रमिकका समस्या र अधिकारबारे बर्दियामा अन्तरक्रिया, समाधानका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता

Image

बर्दिया। घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजना तथा कमैया महिला जागरण समाजको समन्वयमा बर्दिया जिल्लाभित्र रहेका श्रमिक तथा श्रमिक सञ्जालबीच अन्तरक्रिया कार्यक्रम गुलरियामा सम्पन्न भएको छ।

कार्यक्रममा बर्दियाका आठवटै स्थानीय तहका असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा श्रमिक सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अन्तरक्रियामा श्रमिक अधिकार, असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई रोजगारदाताले उपलब्ध गराउनुपर्ने सेवा–सुविधा तथा श्रम ऐनमा भएका व्यवस्थाको कार्यान्वयन अवस्थाबारे छलफल गरिएको थियो।

राधाकृष्ण जनसेवा केन्द्रका जितराम चौधरीले श्रमिक अधिकार, श्रम ऐनका प्रावधान तथा रोजगारदाताको दायित्वबारे स्लाइड प्रस्तुतिमार्फत जानकारी गराएका थिए। त्यस्तै, बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले नेपालको संविधान–२०७२ ले श्रमिकको हकमा सुनिश्चित गरेका अधिकारबारे सहभागीलाई जानकारी दिएका थिए।

कार्यक्रममा सहभागी श्रमिकहरूले आफूहरूले भोग्दै आएका विभिन्न समस्याबारे खुला रूपमा धारणा राखेका थिए। बाँसगढी नगरपालिकाकी गीता कुमाल, राजापुर नगरपालिकाका विरु थारू, अनिता चौधरी, कृष्णा थारू तथा बढैयाताल गाउँपालिकाकी सुनिता थारूलगायतले रोजगारदाताबाट तोकिएको ज्याला नपाउने, हाजिरी पुस्तिका उपलब्ध नगराइने, नियमित हाजिरी नगराइने, समयमा पारिश्रमिक नदिने, अधिकारको कुरा उठाउँदा कामबाट निकाल्ने, सुरक्षा सामग्री उपलब्ध नगराइने, जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्ने, नियामक निकायले श्रमिकको अवस्थाप्रति बेवास्ता गर्ने, महिला र पुरुषबीच असमान ज्याला दिने तथा दुर्घटना बीमाविनै काममा लगाउनेजस्ता समस्या रहेको बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बर्दियामा श्रम तथा रोजगार कार्यालय नरहेको उल्लेख गर्दै श्रमिकहरूले उठाएका समस्याका विषयमा सम्बन्धित कार्यालयसँग तत्काल समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले श्रमिकहरू पनि आफ्नो अधिकारप्रति सचेत र जागरूक हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ, कमैया महिला जागरण समाजका अध्यक्ष कृष्ण थारू, नागरिक समाज बर्दियाका संयोजक हेमा सुनार तथा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेलगायतले पनि श्रमिक अधिकार, श्रम सुरक्षा तथा राज्यको दायित्वका विषयमा धारणा राखेका थिए।

घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख इन्द्रराज खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी, कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी थारू, राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे, नागरिक समाज सञ्जाल बर्दियाका संयोजक हेमा सुनार, बर्दियाका आठवटै पालिकाका रोजगार संयोजक, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा महिला श्रमिकसहित असंगठित क्षेत्रका श्रमिकहरूको उपस्थिति रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन