विज्ञापन

नेकपा एमालेद्वारा बर्दिया उद्योग वाणिज्य संघका निर्वाचित पदाधिकारीलाई सम्मान

Image

राजापुर/ बर्दियाको राजापुर स्थित बर्दिया उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्विरोध निर्वाचित पदाधिकारीहरूलाई एमाले संगठन विभागले विशेष सम्मान गरेको छ। संगठन विभागले आयोजना र राजापुर नगर कमिटीले व्यवस्थापन गरेको सम्मान तथा बधाई कार्यक्रमको सभापतित्व शर्मा चौधरीले गर्नु भएको थियो भने नेकपा एमालेका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालीको प्रमुख आतिथि हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खडक बहादुर खड्का, लुम्बिनी प्रदेश सदस्य शिवप्रसाद थारु, बर्दिया जिल्ला अध्यक्ष शालिकराम थारु, प्रतिनिधिसभा सदस्य शान्ति चौधरी, लुम्बिनी प्रदेशका पूर्व उपसभामुख कृष्णी थारु, कार्यालय सचिव अगंद श्रेष्ठ , नेकपा एमाले राजापुर नगर कमिटी अध्यक्ष लगायत विभिन्न तहका पार्टी नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लक्ष्मण ज्ञवालीले भने, “ बर्दियामा एमाले नेतृत्वमा यस्तो सकारात्मक अभ्यास हुनु गौरवको विषय हो। एमाले अब व्यवसायिक हितका मुद्दाहरूमा पनि मजबुत ढंगले आवाज उठाउनेछ।”

यस्तै, संघीय सांसद शान्ति चौधरीले व्यवसायीहरूलाई राजनीतिक दलको साथ र संरक्षण आवश्यक रहेको उल्लेख गर्दै, एमालेले निजी क्षेत्रलाई समृद्धिको मुख्य मेरुदण्ड मानेर काम गरिरहेको बताइन्। प्रदेशका पूर्व उपसभामुख कृष्णी थारुले निजी क्षेत्र र राजनीतिक नेतृत्वबीचको सहकार्यले स्थानीय विकासमा निर्णायक भूमिका खेल्ने बताइन्।

निर्विरोध हुने पदाधिकारीहरुमा बद्रि खनाल, हरिकृष्ण चौलागाई, उमा वाग्ले पराजुली, अर्जुन चौलागाई, हिमाल गौतम र जानकी चौधरी छन । सम्मानित पदाधिकारीहरूले पाएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै उद्योग, व्यापार, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले व्यवसायी समुदायबीच आपसी एकता र पारदर्शी व्यवस्थापनमार्फत संघलाई सबैका लागि विश्वासिलो बनाउने बताए।

यो कार्यक्रमले एमाले संगठन विभागको स्थानीय तहसम्मको पहुँच, व्यवसायिक नेतृत्वको मान्यता तथा राजनीतिक दलहरूबीच सहकार्यको नयाँ ढोका खोलिदिएको छ। नेकपा एमालेले निजी क्षेत्रसँगको सम्बन्धलाई संस्थागत बनाउँदै स्थानीय नेतृत्वमा सशक्त भूमिका निर्वाह गर्न थालेको संकेतका रूपमा पनि यसलाई हेरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन