बर्दिया — जिल्ला प्रहरी कार्यालय बर्दियाले आर्थिक वर्ष २०८१/०८२ मा भएको प्रगतिहरू पत्रकार भेटघाट कार्यक्रमकाे आयोजना गरी सार्वजनिक गर्यो । प्रगतिहरू सार्वजनिककाे क्रममा युवाहरू लागूऔषध ब्राउन सुगरको कुलतमा फसिरहेकाे र १८ वर्ष तलका युवा देखि ६० वर्ष माथिका वृद्धले गरेकाे आत्महत्या दर बढेकाे पाईयाे ।
एकातिर युवाहरू लागूऔषधको घातक चक्रमा फसिरहेका छन्, भने अर्कातिर आत्महत्याका घटनाले समाज नै स्तब्ध बन्दै गएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्यांकले चर्को चिन्ता दर्शाउँछ ।
आर्थिक वर्ष २०८१/०८२ मा प्रहरीले लागूऔषध सम्बन्धी २ सय १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक केदार खनालले बताउनुभयाे । उहाँले भन्नुभयाे, तीमध्ये सबैभन्दा बढी ब्राउन सुगर सम्बन्धी मुद्दामा १ सय ८४ जना समातिएका छन् । प्रहरीले १ सय ४४ ग्राम ८ सय ९६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । यसले बर्दियामा ब्राउन सुगरको प्रयोग र कारोबार तीव्र रूपमा बढेको देखाउँछ ।

उपरिक्षक खनालले चरेश, अफिम, गाँजा, क्यापसुल, सिरप र ट्याब्लेट सहित अन्य लागूपदार्थ पनि बरामद गरिएकाे जानकारी गराउँदै अफिम २१ किलोभन्दा बढी, गाँजा ५ किलो ८ सय ७१ ग्राम जफत गरिएको उल्लेख गर्नुभयाे । यी आँकडाहरूले बर्दियालाई ‘लागूऔषध पारवहन मार्ग’ मात्रै होइन, उपभोगको खतरनाक केन्द्र पनि बन्दै गएको चित्रण गर्छन् ।
अर्कोतर्फ, प्रहरीकाेे तथ्यांकमा आत्महत्याका दर झन् भयावह छन् । २०८१/०८२ मा जिल्लाकाे १ सय ४७ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर ज्यान दिनेको संख्या १ सय २९ रहेको छ भने विष सेवन गरेर आत्महत्या गर्ने १८ जना छन् । सबैभन्दा धेरै आत्महत्याका घटना ६० वर्ष माथिका र ४६–६० वर्ष उमेर समूहमा देखिएका छन्, तर किशोर र युवा समुह पनि पछाडि छैनन् । १८ वर्षमुनिका १४ र १९ देखि २५ वर्षका २८ जनाले आत्महत्या गरेकाे तथ्यांकमा देखिन्छ ।

विश्लेषकहरू भन्छन् — लागूऔषधको बढ्दो प्रयोग, बेरोजगारी, पारिवारिक विखण्डन, मानसिक तनाव र शिक्षा तथा सचेतनाको कमीले आत्महत्याको संख्या बढेको हुनसक्छ । यस तर्फ छिटै सरकारले ध्यानाकर्षण गर्दै उपयुक्त कदम चाल्नुपर्ने हुन्छ ।
लागूऔषधको असरले मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको प्रहरीको अनुभव छ । युवावर्ग विशेषतः नशालु पदार्थको प्रयोगपछि चाँडै तनाव, डिप्रेशन र आत्महत्या जस्ता अवस्थामा पुग्ने गरेका छन् ।
प्रहरी उपरिक्षक खनाल भन्नुहुन्छ, गत वर्ष सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट ८५ हजारभन्दा बढी नागरिक लाभान्वित भए पनि, नतिजाले समाज अझै गहिरो संकटमा डुबिरहेको देखाउँछ । महिलामाथि हिंसा र बालबालिकामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरीहरू पनि २ सय ४९ वटा पुगेका छन् । यस्ता उजुरीमध्ये सबैभन्दा धेरै गुलरिया नगरपालिकाबाट परेकाे छ । बर्दियामा लागूऔषध नियन्त्रण र मानसिक स्वास्थ्यबारे जनचेतनामूलक कार्यक्रमको गहिरो आवश्यकता छ। प्रहरीको सक्रियता र तथ्यांकको पारदर्शिताले संकटको गहिराइ त देखाएको छ, तर समाधानको दिशामा सरकारी, सामाजिक र पारिवारिक संयन्त्रले समन्वय गर्न सके मात्र स्थितिमा सुधार आउन सक्छ ।
























