आजको नेपालमा भ्रष्टाचार नेताहरूमा सीमित छैन, यो समाजका हरेक तहमा फैलिएको छ। कार्यालयदेखि गाउँ, बजारदेखि बजेटसम्म—सबैतिर भ्रष्टाचारको जरा फैलिएको छ। यसले हाम्रो समाज, अर्थतन्त्र र राजनीति भित्रैबाट कमजोर बनाइरहेको छ।
अब पनि चुप लाग्ने कि आवाज उठाउनेरु समय आएको छ—कुरा होइन, कदम चाल्ने। भ्रष्टाचारविरुद्ध बोलौं, लेखौं, देखे तुरुन्त उजुरी गरौं। किनकि आजै लडाइँ सुरु नगरे भोलि यो देश असफल राष्ट्र बन्नेछ।

समाजमा यसको असर गहिरो छ। शिक्षा क्षेत्रमा घुस नदिएसम्म सेवा नपाइने अवस्था छ। अस्पतालमा उपचारभन्दा पैसालाई प्राथमिकता छ। रोजगारीमा योग्यताभन्दा पहुँच र पैसा हावी छ। यस्ता विकृतिले इमान्दार नागरिक निराश हुँदै विदेशिन बाध्य छन्।
देशको विकासका लागि इमान्दार र निष्ठावान् व्यक्तिहरूलाई अवसर दिनुपर्छ। तर सडेको सिस्टमले उनीहरूलाई टिक्न दिँदैन। इमान्दारहरूलाई दबाब, हस्तक्षेप र चरित्र हत्या गरिन्छ।
यस्तो निराश अवस्थाबीच बालेन शाह र कुलमान घिसिङले परिवर्तन सम्भव छ भन्ने उदाहरण दिएका छन्। बालेनले काठमाडौंमा भ्रष्ट प्रणालीविरुद्ध काम गरे। कुलमानले लोडसेडिङ अन्त्य गरे। यी सफलताले देखाउँछ—इमान्दार नेतृत्वले चाहेमा सुधार सम्भव छ। तर उनीहरूलाई पनि संस्थागत प्रतिकार भोग्नुपर्यो। त्यसैले अब यस्ता इमान्दार नागरिकहरू मिलेर राष्ट्र बचाउने साझा अभियानमा जुट्नुपर्छ।
अब स्वतन्त्र रूपमा निर्वाचित र जनहितमा काम गर्ने इमान्दारहरूलाई एउटै अभियानमा समेट्न जरुरी छ। यो लडाइँ केही नेताहरूको होइन, सबै सचेत नागरिकको हो। शिक्षक, पत्रकार, डाक्टर, इन्जिनियर, युवा, महिला, किसान—सबैले भ्रष्टाचारविरुद्ध उभिनुपर्छ।
सानो कामबाट ठूलो परिवर्तन सुरु हुन्छ। कार्यालयमा घुस नदिने, भ्रष्टाचार देखे उजुरी गर्ने, इमान्दार उम्मेदवारलाई मत दिने, गलत कार्यको भण्डाफोर गर्ने—यी नै परिवर्तनका कदम हुन्।
सिस्टम बदल्न सजिलो छैन। तर संघर्ष, साहस र धैर्यले मात्रै परिवर्तन सम्भव हुन्छ। जहाँ जनताको जागरण छ, त्यहाँ परिवर्तन आउँछ।
अब सुशासन र विकासका लागि समर्पित इमान्दारहरू एकजुट हुने बेला आएको छ। यो लडाइँ भ्रष्टाचारविरुद्ध मात्र होइन, देशको भविष्य बचाउने संघर्ष हो।
अब निर्णय तपाईंको हातमा छ—सडेको सिस्टमको हिस्सा बन्ने कि सिस्टम नै बदल्नेरु अब कुरा होइन, कदम चाल्ने बेला आएको छ। सबै मिलेर भ्रष्टाचार अन्त्य गर्दै सुशासन र समृद्धिको इतिहास लेख्ने जिम्मेवारी हाम्रो काँधमा छ।






















