राजापुर, बर्दिया । राजापुर नगरपालिका–४ मा सञ्चालित उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। राजापुर नगरपालिकाका उपप्रमुख एंव कार्यक्रमको प्रमुख अतिथि मनकला चौधरीले उत्कृष्ट महिला सहकारी बास्तवमै उत्कृष्ट सहकारी भएको बताउनु भयो ।

वि.सं २०७२ सालमा स्थापना भएको सहकारीले हाल राजापुर नगरपालिकाका सबै क्षेत्रमा सेवा विस्तार गरेको छ। आर्थिक वर्ष २०८३/०८४ सम्म संस्थाको कुल शेयर पुँजी ७८लाख ७५हजार ९सय रुपैयाँ पुगेको छ।

सहकारीमा हाल १ हजार ३४८ जना शेयर सदस्यरहेका छन्, जसमा १ हजार ३१३ महिला र ३५ पुरुष छन्। संस्थामा ११ सदस्यीय सञ्चालक समिति, विभिन्न उपसमितिमा ३३ जना सदस्य तथा ४ जना कर्मचारी कार्यरत रहेको संस्थाकी अध्यक्ष धनलक्ष्मी खत्रीले बताउनु भयो ।

सहकारीले कृषि, व्यापार, स्वरोजगार, शिक्षा, वैदेशिक रोजगार, औषधोपचार तथा घरायसी प्रयोजनका लागि सदस्यलाई ऋण प्रवाह गर्दै आएको जनाएको छ। चालु आर्थिक वर्षमा संस्थाको बचत संकलन १८।२३ प्रतिशतले वृद्धि भई ४ करोड ६३ लाख ७६ हजार १ रुपैयाँ पुगेको व्यवस्थापक मिरा चौधरीले बताउनु भयो ।
सदस्यलाई थप सहज र आधुनिक सेवा उपलब्ध गराउन सहकारीले ‘मिरा’ सफ्टवेयर सञ्चालनमा ल्याएको छ। व्यवस्थापनले वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउँदै सदस्यहरूको सामाजिक, आर्थिक तथा शैक्षिक उन्नतिमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
























