मेरा पूर्व सहकर्मी एवम् टि.भि. टुडेका लम्की व्युरो प्रमुख नवराज खनालको पानीमा पसेर गरेको रिर्पोटिङ्ग सामाजिक सञ्जालमा एकदमै भाइरल भएछ । धेरैले राम्रो भने र उत्तिकैले नकारात्मक प्रतिक्रिया पनि दिएका छन् । यो विषयमा मलाई केही बोल्न मन लाग्यो र आफना विचारहरु शब्दमा उतार्ने प्रयत्न गरेँ ।
पोहोर साल यही समयमा बाढी आउदा म पनि टि.भि. टुडेमै कार्यरत थिएँ । नवराज जी,ले मलाइ रिर्पोटिङ्ग गर्न भजनी जाउँ भनेपछि म पनि उत्साहित हुँदै गएँ, यद्दपि मेरो कार्यक्षेत्र बर्दिया जिल्ला थियो । त्यहाँ पुगेपछि जुन दृश्य मैले देखेँ त्यो मेरो कल्पना भन्दा बाहिरको थियो । बस्ती पुरै जलमग्न थियो, घरहरु आधा डुबेको अवस्थामा थिए । गाई–भैँसी गोठमै डुबिरहेका थिए भने भेडा–बाख्राहरु पानीबाट बाहिर निकालिँदै थिए । महिला एवम् बालबालिकाहरुलाइ उच्च स्थानमा त्रीपालमुनी राखिएको थियो भने युवा एवम् वयस्कहरु पानीमा आधा डुबेरै घरको सुरक्षा र व्यवस्था मिलाई रहेका थिए । मैले आफनो रिर्पोटका लागि चाहिने फोटो, भिडियो ओभानो ठाउँबाटै खिचेँ तर नवराज जी पानीमा भिजेर बस्तीमै पुग्नुभयो र घण्टौँ हराउनु भयो । हामीसंगैं गएकाले छोडेर आउने कुरा पनि भएन, म अत्यासपूर्ण वातावरणका साथ उहाँलाई डुबान क्षेत्रभन्दा केहि पर पर्खिरहेँ । म दुब्लो पातलो भएकाले चिसो लागेर बिरामी हुने डरले नवराज जी को जस्तो पानीमा पस्ने आँट गर्न पनि सकिन । सायदै अरु पत्रकार साथीहरु पनि पानीमा डुबेको बस्तीमा पसे होलान, म जस्तै ढिकबाट फोटो, फुटेज र बाइट लिएर फर्किए होलान् ।
त्यहाँबाट निस्किँदा निस्किँदै साँझ पर्न थाल्यो । रिर्पोटिङ्गंका लागि बिहानै घरबाट निस्किएकाले भोकपनि लागि रहेको थियो । त्यसैले टिकापुरको सिद्धार्थमा खाना खाएर छुट्निे सल्लाह भयो । खाना तयार हुँदै गर्दा मैले उहाँको क्यामेरामा भएका फुटेज, बाइट हेरेँ । उहाँको क्यामेरामा भएका फुटेज, बाइट हेरेपछि मलाई मेरो क्यामेरामा भएको र मैले नै खिचेको फुटेज, बाइट मलाइनै खल्लो लाग्यो । किन खल्लो लाग्यो तपाईं आफै कल्पना गर्न सक्नुहुन्छ ।
प्रत्येक वर्ष कैलालीको भजनीमा डुबान हुन्छ, सहयोगी दाता भनेर कहलिने संस्थाहरुले चिउरा र चाउचाउ बाँड्छन, सरकारले पनी अलिअलि राहत दिन्छ नै होला । म जस्ता पत्रकारले ढिकबाट फुटेज, बाइट खिचेर समाचार पनि बनाएर प्रसारण गरे नै होलान्, तर सरकार एवम् प्रशासनले डुबान हुने समस्याको दिगो समाधान खोजेन । सरकार कान नसुन्ने भएको छ, वर्षेनी हुने डुबानको समस्या न सुन्छ न देख्छ । सायद यसमा कमजोरी मिडिया कै हो की ? हामिले वास्तविक पिडा देखाएकै छैनौँ । भुइँमान्छेका समस्या देखाउन त सतहमै जानु पर्दैन र ? बाढी र डुबानको समाचार हामिले ढिकमा बसेर बनाउँछौँ, त्यसैले हाम्रा समाचारहरु परिवर्तनका बाहक बन्न सकेका छैनन् । त्यसैले होला हाम्रो समाचारलाई सरोकारवालाहरुले गम्भिरताका साथ लिँदैनन् र डुबान जस्ता घटना घटी रहन्छ ।
धेरै साथीहरुले नवराज जी,ले पत्रकारिताको नोम्स भन्दा बाहिर गएर रिर्पोटिङ्गं गर्नु भएको गुनासो गरे । उहाँ पत्रकारिताको नोम्स भन्दा बाहिर जानुभएको पनि होला, उहाँ मास कम्युनिकेसनको विद्यार्थी पनि होइन । उहाँ शिक्षाले स्वास्थ्यकर्मी हो भने रुचीले पत्रकार । जहाँसम्म म उहाँलाइ चिन्दछु पत्रकारिताबाट केही आम्दानी भए पनि जिविकोपार्जनको माध्यम चाही पक्कै होइन । समाज रुपान्तरणका लागि आफ्नो ठाउँबाट गर्नसक्ने कार्य गर्नुपर्छ भनेर लागि जानीनजानी पत्रकारितामा लाग्नु भएको छ ।
केहीले सस्तो चर्चा पाउनको लागि यस्तो किसिमको रिर्पोटिङ्ग गरेको कुरापनि गरे । एकदमै कम मानिसलाई थाहा होला की नवराज कराँतेमा बल्याक बेल्ट प्राप्त ब्यक्ति हुनुहुन्छ, २०६२–६३ साल तिर लम्कीको एक कार्यक्रममा आफ्नो शरिर माथीबाट कार हिँडाएर मानिसहरुको बिचमा चर्चाको विषय बनि सक्नु भएको छ । चर्चा कमाउनका लागि उहाँसित अरु थुप्रै उपायहरु पनि रहेछन् । मैले टि.भि. टुडेमा काम गर्दा उहाँसित धेरै कुरा सिक्ने अवसर पाएँ । उहाँले गरिरहेको पत्रकारिता मास कम्युनिकेसनको औपचारिक पाठ्यक्रममा आधारित नभए पनि आवाज बिहिनको आवाज भएको छ । दिन–दुःखिको सहारा भएको छ, भने भ्रष्टाचारी र नकारात्मक तत्वहरुको आँखाको तारो बन्नु भएको छ नवराज ।
र अन्त्यमा, कैलालीको भजनीमा उहाँले पानी भित्र गएर डुबान प्रभावित क्षेत्रका स्थानियसंग कुराकानी गरेको भिडियोलाइ सयौँले शेयर गरे, हजारौँले त्यसमा प्रतिक्रिया जनाए भने लाखौंले सामाजिक सञ्जालमा लाइक लगायतको रियाक्सन देखाउँदा करोडौँले हेरे । अहिले निकै चर्चामा रहेका सामाजिक सञ्जालहरुले पनि नवराजको समाचारलाई स्थान दिए । सकारात्मक, नकारात्मक चर्चा परिचर्चा पनि भए । कैलालीको भजनी नगरपालिकामा डुबानको समस्या रहेछ भनेर नेपालै भरि चर्चा–परिचर्चा पनि भयो । भाइरल समाचारको गुञ्जन भजनी नगरपालिकाले सुनोस् । अनि काठमाण्डौको सिहंदरबारको आँखाले पनि देखोस् र अर्को वर्षको वर्षायाम सुरु हुनुपूर्व डुबानको समस्यालाई सँधैका लागि समाधान गरोस् । अर्को वर्ष नवराज जस्ता पत्रकारलाई डुबानको रिर्पोटिङ्ग गर्न पानीमा पस्ने मौका नै नमिलोस् ।






















