विज्ञापन

स्वास्थ्य संस्था व्यवस्थापनमा नवीनतम अभ्यास र समन्वयको भूमिका

Image

गंगा राम चौधरी,राजापुर / सन्दर्भ म हाल कार्यरत स्वास्थ्य संस्था बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं.१० मा अवस्थित, खैरीचन्दनपुर स्वास्थ्य चौकीको हो । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया देखि करिव २७ कि.मी. पश्चिममा पर्ने नेपालकै सबैभन्दा लामो पक्कि पुल गेरुवा कर्णाली पुल कोठियाघाटको छेउमा अवस्थित खैरीचन्दनपुर स्वास्थ्य चौकी वरपरको वातावरण प्राकृतिक रुपले मनमोहक त छ नै त्यसै माथि स्वास्थ्य संस्थाको अब्बल व्यवस्थापकीय पक्ष र सुरुवात गरिएका नवीनतम प्रयासहरुले झनै सेवाग्राहीहरुको लागि आकर्षणको केन्द्र विन्दु बनेको छ । राजापुर नगरपालिका अन्तर्गत रहेका ११ ओटा स्वास्थ्य संस्था मध्ये न्युनतम स्वास्थ्य सेवा मापदण्डमा सवै भन्दा उच्च अंक सहित अग्र स्थानमा रहेको यस संस्थामा नेपाल सरकारले निर्दिष्ट गरेका स्वास्थ्य चौकी स्तरमा प्रदान गरिने सम्पूर्ण सेवाहरु उपलब्ध भए संगै बालमैत्री सेवा ,किशोर किशोरी मैत्री सेवा, ग्रामीण अल्ट्रा साउण्ड सेवा तथा सुरक्षित गर्भपतन सेवा लगायतका थप सेवाहरु हालसालै थालनी गरि संचालनमा रहेका छन ।


समन्वय तथा नवीनतम अभ्यासको प्रभाव

                कुरो २०७६ साल कार्तिक ३ गतेको हो म समायोजन पश्चात प्रथम दिन आफ्नै गृह जिल्लामा रहेको खैरीचन्दनपुर स्वास्थ्य चौकीमा हाजिरी हुन पाउँदा मन हर्षले गदगद भएको थियो । मनमा अनेकन भावनाहरु बोकेर चरम उत्साहका साथ आफ्नो कार्यकक्षमा उपस्थित भए देखि नै मैले कामको थालनी गरे । विगतका क्रियाकलापहरुको प्रगति प्रतिवेदन केलाएर हेर्दा क्षणभरमै मेरा चरम सिमा नाघेका खुशीहरु जिरो विन्दुमा समाहित भए । अन्य स्वास्थ्य संस्थाको जस्तै भौतिक ,आर्थिक ,प्राविधिक लगायत सवै खाले समस्या भोगिरहेको यस संस्थाको समस्या तथा पिरव्यथा पनि अन्य संस्थाको तुलनामा कम नभई अझ जटिलनै थियो । त्यस क्षण देखि नै मैले यो संस्थामा केहि सुधार ल्याउछु भनेर प्रण गरे र समस्याका बीच अवसरहरु देख्न थाले । त्यसको भोलि पल्ट स्वास्थ्य व्यवस्थापन समितिको वैठक संचालन गरि परिचय कार्यक्रम संगै वार्षिक कार्ययोजना निर्माण गरि व्यवस्थापन समितिबाट पास गराई प्रथम चरणको कार्यको थालनी गरें। स्वास्थ्य चौकीको आम्दानीको श्रोत लगभग शुन्य बराबर नै रहेकोले सुरु सुरुमा व्यवस्थापन गर्न निकै नै सास्ती झेल्नु पर्यो । म भन्दा पुर्व कार्यरत संस्था प्रमुख ज्युहरुले ४/५ वर्ष देखि मालपोत कर र बिधुत महशुल भुक्तानी नगरेका कारणले कयौं पटक सम्बन्धित संस्थानले लाइन काट्दा बर्थिंग सेन्टरमा समस्या झेल्न पर्यो । यस्ता आर्थिक लगायत व्यवस्थापकीय विभिन्न चुनौतीका बीच मैले स्थानीय सरकार तथा बर्दिया जिल्लामा कार्यरत दातृ संघ संस्थाहरु प्लान इन्टरनेश्नल , गेरुवा ग्रामीण जागरण संघ ,थारु महिला उत्थान केन्द्र ,बेस बर्दिया , रेडक्रस लगायत विभिन्न निकाय संग निरन्तर समन्वय गर्दै काम गर्दै अगाडी बढे फलस्वरूप ३ वर्षकै अवधि भित्र थुप्रै समस्याहरुको समाधान भइ सकेको र केहि समाधान हुने क्रममा रहेका छन ।


              विविध समस्या रहेको यस स्वास्थ्य चौकीमा हाल निरन्तर सकारात्मक समन्वयका कारणले नै विधुत, इन्टरनेट महशुलको समस्या शुन्य र सम्पुर्ण जिम्मा स्थानीय सरकारले लिएको छ । फर्निचर लगायत अति आवश्यक सामाग्री, कम्प्युटर , वैकल्पिक उर्जा आदिको समस्या पूर्ण रुपले स्थानीय तहले नै बजेट बिनियोजन गरि सामाधान गरिसकेको छ भने बालमैत्री सेवा, किशोर किशोरीमैत्री सेवा,म।स्वा।स्व।सेविका प्रोत्साहन कार्यकम, गर्भवती तथा सिक्कल सेल र थाईलेसेमिया विरामीका लागि निशुल्क ल्याव सेवाको लागि समेत वडाले बजेट बिनियोजन गरि सेवा सुचारु भएको छ्र दातृ संस्थाहरुको सहयोगमा फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित कर्मचारी तथा सेवाग्राहीका लागि प्रशस्त शुद्ध पिउने पानीका लागि फिल्टर जडान , पानीको गुणस्तर जांच गर्ने ल्यावको स्थापना , बालमैत्री सेवाका लागि आवश्यक सम्पूर्ण सामाग्री खरिद लगायत बर्थिंग सेन्टरका लागि आवश्यक सामाग्रीमा समेत निरन्तर सहयोग प्राप्त हुँदै आएको छ। यसरी समस्याको निरन्तर सामाधान भए संगसंगै यस स्वास्थ्य चौकीमा हालैका वर्षहरुमा केहि नवीनतम अभ्यासको समेत थालनी भएको छ जस्तै  बालमैत्री सेवा ,किशोर किशोरी मैत्री सेवा, ग्रामीण अल्ट्रा साउण्ड सेवा, तथा सुरक्षित गर्भपतन सेवाको थालनीका साथै स्वास्थ्य संस्थालाई प्लास्टिक मुक्त स्वास्थ्य संस्था घोषणा गरि फोहोरमैलाको उचित व्यवस्थापन संगै स्वास्थ्य चौकी परिसर सफा सुग्घर तथा वातावरणमैत्री बनाइएको छ ।

निष्कर्ष
व्यवस्थापन एउटा कला हो र समन्वय र सिर्जनशीलता व्यवस्थापनका महत्त्वपूर्ण आयामहरु हुन हाम्रो जस्तो मुलुकमा न्यून श्रोत र साधनका बीच सेवा प्रवाह गर्नुपर्ने बाध्यता हामी सवैका साझा समस्या हुन। हामीले आफ्नो मन भित्रबाटै कर्तव्यनिष्ठ भइ समस्या सामाधान तर्फ अग्रसर हुने हो भने एक न एक दिन अवश्य सफल भइन्छ। संघियता कार्यान्वयन पछिको पछिल्लो चरणमा तीन तहको सरकार रहेको र तीन ओटै तहका सरकारको आ आफ्नै किसिमको भूमिका, जिम्मेवारी तथा क्षेत्राधिकार रहेकोले तिनै तहका सरकार र दातृ निकाय संग सहकार्य गरि राज्यको वर्तमान व्यवस्थालाई चुनौती हैन अवसरको रुपमा स्वीकार गरि लाभ लिन सक्नुपर्छ। कतिपय स्थानहरुमा जनप्रतिनिधिहरुलाई स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यका कार्यक्रम र यसको महत्त्व मात्र बुझाउन नसकेको र समन्वय नगरेको कारण मात्रले पनि बजेट बिनियोजन हुन नसकेको र दातृ निकायहरुलाई समेत काम गर्न सरल वातावरण नभएका कारण स्वास्थ्य सेवाको विस्तार हुन नसकेको ज्वलन्त उदाहरणहरु हाम्रै सामु छन । एक जना व्यक्ति मात्र लागेर संस्थागत सफलता हाँसिल गर्न असम्भव नै हुन्छ तसर्थ समन्वय व्यवस्थापकीय पक्षको सवैभन्दा बलियो हतियार हो सवै संग समन्वय गरौँ ,थोरै मात्र भए पनि अरुभन्दा फरक सिर्जनशील भएर सोचौं र नवीनतम कार्यको थालनी गरौँ ।

विज्ञापन
विज्ञापन
विज्ञापन