टीकापुर, कैलाली । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि कैलालीको टीकापुरका बाढी प्रभावित क्षेत्रका समुदाय पूर्वतयारीमा जुटेका छन्।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ‘जीविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण कार्यक्रम’ अन्तर्गत पूर्वसूचना कार्यदल र च्याम्पियनहरूले टीकापुर नगरपालिका–७ का बैदी, प्रतिपुर, सुन्दरपुर र दिव्यपुरमा पूर्वसूचना प्रवाह गरेका हुन्।
जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको तथा सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा समेत भारी वर्षा हुनसक्ने जनाएको सूचनाका आधारमा तराई क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन समुदायलाई आग्रह गरिएको छ।
हाते माइकमार्फत गरिएको पूर्वसूचना अभियानमा पाकेको धान तत्काल नकाट्न, दीर्घरोगी तथा नियमित औषधि सेवन गर्ने व्यक्तिहरूले २–३ हप्ताका लागि आवश्यक औषधि जोहो गर्न र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न जानकारी गराइएको थियो।
बाढी तथा विपद्का समयमा सम्भावित जोखिम न्यूनीकरण गर्दै समुदायलाई पूर्वतयारी अवस्थामा राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा पूर्वसूचना कार्यदल, च्याम्पियन, समुदाय चिराकी, वडा सदस्य आइतीदेवी सुनार तथा नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति धनसरी कुमारी कोइरालालगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण ECOLAB परियोजनाकी सामाजिक परिचालक अनिता धामीले गर्नुभएको थियो।























