विज्ञापन

अविरल वर्षाका कारण बर्दियाका विभिन्न स्थानमा घरमा क्षति, एक बंगुर मरेको

Image

बर्दियामा असोज ९ र १० गते परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानीय तहमा घर तथा संरचनामा क्षति पुगेको छ। वर्षाका कारण केही घरमा पानी पसेको छ भने केही कच्ची घरका भित्ता भत्किएका छन्। घटनापछि प्रहरीले सम्बन्धित पालिकासँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका–१ छेदापुर चोकमा माटोले बनेको र टायलले छाएको पाँचवटा घरमा करिब एक फिटसम्म पानी पसेको थियो। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर वडा अध्यक्ष तथा वडा सदस्यसँग समन्वय गरी प्रभावित परिवारलाई श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालय, छेदापुरको हलमा बस्ने व्यवस्था मिलाएको थियो।

त्यस्तै, बाँसगढी नगरपालिका–८ रेशम टोलमा जलबहादुर चौधरीको चार कोठे कच्ची घरको दक्षिणतर्फको भित्ता लगातारको वर्षाका कारण गलेर भत्किएको छ। भित्ता भत्किँदा छेउमा रहेको बंगुरको खोर च्यापिएर खोरमा रहेको करिब ७०–८० किलोको एउटा बंगुर मरेको प्रहरीले जनाएको छ।

बढैयाताल गाउँपालिका–१ दैलेखी टोलमा गोमा विकको एकतले कच्ची घरमा पानी पसेको छ। त्यस्तै, मधुवन नगरपालिका–५ गाउँ नम्बर ८ मा खिरबहादुर गुरुङको जस्ताले छाएको चार कोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता अविरल वर्षाका कारण भत्किएको छ।

यसैगरी, बारबर्दिया नगरपालिका–९ खैरेनीमा दुई कोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फका भित्ता भत्किएका छन्। उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

वर्षाका कारण भएको क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक सुरक्षा र उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन